चर्चामा नेकपा सचिवालय बैठक

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नोविरुद्ध आएको प्रस्तावको पक्षमा सचिवालयका बहुमत सदस्य उभिएपछि समीकरण भत्काउन शीर्षनेताहरुसँग परामर्श जारी राखेका छन् ।

उनले पूर्व माओवादी समूहका नेता, आफ्नै समूहका नेताहरुसँग नियमित छलफल र राष्ट्रपतिसँग परामर्श गरेका हुन् ।
एकातिर आन्तरिक समीकरण फेरबदलका लागि कोसिसमा ओली छन् भने अर्कोतर्फ बुधबारका लागि बोलाइएको सचिवालय बैठक स्थगनका लागि प्रस्ताव फिर्ताको अडान राखेका छन् ।

त्यसका लागि उनले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेटेर फकाउने प्रयास गरेका थिए । उनले दुवै नेतालाई आफूसँग मिलेर जान आग्रह पनि गरेका थिए । प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई सचिवालयमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह पनि गरेका थिए ।

तसर्थ उनले उपाध्यक्ष वामदेव गौतमलाई पहिलो वरियताको उपप्रधानमन्त्रीसहित सरकार आउन ‘अफर’ गरेको स्रोतले जनाएको छ । यस्तै, नेता माधवकुमार नेपाललाई अहिले आफूलाई सहयोग गर्न र महाधिवेशनपछि पार्टी अध्यक्ष साथै आगामी निर्वाचनपछि प्रधानमन्त्रीका लागि सहयोग गर्ने प्रस्ताव गरेको उनीनिकट नेताहरु बताउँछन् ।

त्यसैगरी, विगतमा जस्तै राष्ट्रपतिसँग लगातार परामर्श गरेर प्रधानमन्त्री ओलीले आफ्नो विपक्षमा रहेका नेतामाथि मनोवैज्ञानिक दबाब बनाउने प्रयास पनि गरेका छन् । ओलीलाई विगतमा भन्दा यसपालि कठिन घडी आएको छ ।

ओलीलाई उनीनिकट नेताहरूले पनि सचिवालय बैठक सार्न सुझाव दिएका छन्। मंगलबार बालुवाटारमा छलफलका लागि उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल,पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, स्थायी समिती सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य पृथ्वी सुब्बा गुरुङलगायत सहभागी थिए ।

अहिलेको अवस्थामा बैठक बस्नुभन्दा केही समय बैठक स्थगित गर्न राम्रो हुने सुझाव आएको छलफलमा सहभागी एक नेताले बताए। बैठकमा प्रधानमन्त्री ओलीले पार्टीलाई यताउता हुन नदिने र पार्टी एकताको पक्षमा दृढताको साथ उभिने बताएको सहभागी एक नेताले बताए । सबैसँग छलफल गरेर अघि बढ्ने समेत प्रधानमन्त्रीले बताएका थिए ।

नेकपा पार्टी सचिवालयल सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बुधबारको बैठक स्थगित नहुने स्पष्ट पारेका छन् ।

सचिवालयका बहुमत नेताहरुले लिखितरुपमै गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओलीमाथि विगतमा भन्दा बढी दबाब परेको हो । त्यसैले दाहाल समूहले प्रधानमन्त्री नआए पनि बैठक बसाल्ने तयारी गरेको छ । तर, बुधबार दिउँसो १ बजेलाई बोलाइएको बैठक अझै अनिश्चित छ । विगतमा पनि अन्तिम समयमा आएर बैठक स्थगन भएका उदाहरण प्रशस्त छन् ।

गत कात्तिक २२ मा नेकपा अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्य वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठकको माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । पार्टी र सरकार सञ्चालनका केही प्रश्नसहित आफूलाई बुझाइएको पत्रको ओलीले कात्तिक २५ मा लिखितरूपमै जवाफ दिएका थिए ।

त्यसपछि दाहालले कात्तिक २८ मा फेरि ओलीलाई जवाफी पत्र लेखे । सचिवालय बैठकमा बहुमत सदस्यतर्फबाट दाहालले राजनीतिक प्रस्ताव पेस गरे ।

सचिवालयका बहुमत सदस्यले प्रस्तावमा ओलीको राष्ट्रवाद नक्कली भएको, यती होल्डिङ्सदेखि ओम्नी समूहसम्म साँठगाँठ गरेको, बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएको, एमसीसीमा पार्टीलाई ढाँटेको, समकक्षी नेताहरूलाई विभिन्न लोभ, प्रलोभन देखाउने गरेको, व्यक्तिवादी प्रवृत्ति हावी भएको, संघीयताविरोधी गतिविधि गरेको, पार्टी विभाजनको कोसिस गरेको आरोप लगाएका छन् ।

पार्टी स्थायी कमिटीले कोरोनाको बढ्दो संक्रमणबाट उत्पन्न विषम परिस्थिति, पार्टीको बृहत्तर हित एवं एकता, राष्ट्रिय महाधिवेशनको तयारीलगायत पार्टी–जीवनलाई गति प्रदान गर्ने तथा राष्ट्रियता र जनजीविकासँग सम्बन्धित कतिपय ज्वलन्त समस्याको समाधानमा सरकारका काम–कारबाही प्रभावकारी तुल्याउने निर्णय गरे पनि पार्टी र सरकारका सबै कामहरू त्यसअनुरूप निर्देशित हुन नसकेको बहुमत सदस्यहरुको आरोप छ ।

राष्ट्रपति–दाहाल भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा कार्यकारी अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । पार्टीभत्रको विवाद उत्कर्षमा पुगेको बेला सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड मंगलबार साँझ साढे ५ बजे शीतल निवास पुगेका थिए । उनले त्यहाँ करिब २ घण्टा बिताएको र पार्टीभित्रको विवाद तथा त्यसको समाधानका विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।

पार्टीभित्र दबाबमा आएपछि प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल गर्न अध्यक्ष प्रचण्ड शितलनिवास पुगेको अनुमान गरिएको छ । ओली र दाहालबीच विवाद हुँदा मिलाउन राष्ट्रपतिले समेत भूमिका खेलेको आरोप लाग्दै आएको छ ।

नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहीदिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग समेत परामर्श गरेकी थिइन् ।

ओलीको कडा आलोचना गर्दै छुट्टै प्रस्ताव पार्टी सचिवालयमा पेश भएपछि नेकपा विवाद थप उग्र बनेको छ भने सोही प्रस्तावलाई लिएर नेतादेखि कार्यकर्तासम्म विभाजित बनेका छन् ।

यसैगरी प्रचण्डले आफू पक्षका नेताहरूलाई खुमलटार बोलाएर परामर्श गरिरहेका छन् । मंगलवार अपराह्न स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल लगायतका नेताहरूलाई प्रचण्डले खुमलटार बोलाएका हुन् । स्रोतका अनुसार आफूपक्षका नेताहरूसँग प्रचण्डले सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे परामर्श गरिरहेका छन् ।

मंगलवार बिहानै पार्टी महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए । पार्टीभित्रको विवाद समाधानका निम्ति पौडेलले दुवै अध्यक्षसँग परामर्श गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width