पोखरेली नजरमा सूर्यबहादुर केसी

Bijay Nepal विजय नेपाल
कार्तिक २९, २०७७
Late Surya Bahadur KC

पोखरा, २९ कात्तिक । प्रतिनिधिसभा सदस्य पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको स्वर्गारोहणको आज शनिबार १३ औं दिनको पुण्यतिथि हो । २०१४ साल जेठ १० मा पोखरा मझेरीपाटनमा जन्मिएका केसीको ६३ वर्षको उमेरमा गत कात्तिक १७ गते आफ्नै निवास पोखरा–७, एयरपोर्टमा निधन भएको थियो ।

कोभिड–१९ महामारीबीच यस वर्षको दसैंँ खल्लोरुपमा मनाएका पोखरेली नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसीको निधनबाट शोकमा डुब्न पुगे । राजनीतिक, आर्थिक, उद्योग व्यवसाय, शिक्षा, सञ्चार, विकास निर्माण, सामाजिक कार्यमा उनको योगदानको अनन्तकालसम्म चर्चा भइरहनेछ । भौतिक शरीर यो धर्तीमा नहरे पनि चिरस्थायीसम्म उनलाई आफ्नो जीवनकालमा गरेका प्रशंसीय कार्यले सबैलाई सम्झाइरहनेछ । तीक्ष्ण बुद्धि भएका र दूरदर्शी स्वभावका उनी निकै परिश्रमी र मिहिनेती थिए । कुनै पनि काम आँटेपछि पूरा गर्ने उनको स्वभाव थियो ।

स्व. कीर्तिबहादुर केसी र पम्फा केसीका ज्येष्ठ सुपुत्र सूर्यबहादुर केसीलाई धेरैले सीताराम नामले चिन्छन् । स्व. केसीको आमा, श्रीमती, ३ छोराबुहारी, ५ नाति र २ नातिनी छन् ।

२७ वर्षकै उमेरमा २०३९ सालमा उनी पोखरा नगर पञ्चायतको प्रधानपञ्च बने । पछि दोस्रो कार्यकालमा लागि उनै चुनिए । त्यसबेला उनले पोखराको समग्र विकासका लागि स्पष्ट भिजन दिए ।

तीक्ष्ण बुद्धि र दूरदर्शी स्वभावका उनी निकै परिश्रमी र मिहिनेती थिए

बहुदलपछि राप्रपाको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्षजस्तो जिम्मेवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरेका केसी पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बने । २०७४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेसँगै पार्टीको आमन्त्रित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य चुनिए ।

सफल उद्योगीका रुपमा परिचित केसीले नेपालमै पहिलो पटक चाउचाउ भित्राएका थिए । माछापुच्छे बैंकको संस्थापक अध्यक्ष केसीको नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज, नेपाल इञ्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, हिमश्री फुड्स प्रालि, करिब दर्जन हाइड्रोपावर लगायत दर्जनौं कम्पनीमा आबद्धता थियो । सामाजिक कार्य भनेपछि हुरुक्कै हुने केसी दर्जनौं सामाजिक संघसंस्थामा संलग्न थिए । उनले मुलुकमा लोडसेडिङले समस्या पारेपछि हाइड्रोतर्फ पनि लगानी गरी उज्यालो नेपाल बनाउन भूमिका निर्वाह गरेका थिए । अनेकौं युवा क्लब, आमा समूह, संघसंस्था, टोल विकास संस्था, धार्मिक मठमन्दिर, आश्रम, क्याम्पस, विद्यालय लगायतमा आवश्यकता अनुरुप आर्थिक सहयोग गर्दै आएका थिए ।  विभिन्न क्षेत्रमा स्थापित रही उनीसँग व्यावसायिक तथा विभिन्न कालखण्डमा नजिकबाट संगत गरेका व्यक्तित्व उनलाई कसरी सम्झिन्छन् त ?

हरि पाण्डे (पूर्व मन्त्री )

उहाँसँग व्यावसायिक क्षेत्रमा मेरो करिब ३५ वर्षसम्म सहयात्रा रह्यो । उहाँ एक असल राष्ट्रवादी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले नेपालले एक कुशल उद्योगी गुमाएको महसुस गरेको छु । राप्रपा र पछि नेपाली काँग्रेसमा रहे पनि उनी एक राष्ट्रवादी व्यक्तित्व हो । तीक्ष्ण बुद्धि, हिम्मत भएको, कुशल, परिश्रमीको रुपमा मैले चिन्दै आएँ । सुरुवातमा उहाँसँग रारा चाउचाउबाटै सहकार्य गरेको हुँ । पछि उहाँ आफैले हिमश्री फुड्स प्रालि नाउँबाट निरन्तरता दिनुभयो । केसी ग्रुपअन्तर्गत उहाँका थुप्रै प्रोजेक्ट छन् । नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज, नेपाल इञ्जिनियरिङ कलेज, भगवती र तास हाइड्रो पावरमा पछिल्लो समयसम्मै सहकार्य रह्यो ।
यसैगरी, पोखराका शिक्षासेवी तथा उद्योगी अशोक पालिखेले स्व. केसीलाई दूरगामी सोच भएका व्यक्तित्वको रुपमा स्मरण गर्दछन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका पाखिलेका अनुसार स्व. केसी देशलाई कसरी औद्योगिक क्षेत्रमा अगाडि बढाउने र रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा सधैँ चिन्तित रहने गर्दथे । आजभन्दा २२ वर्ष अघि नेपालमै पहिलो पटक नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज स्थापना गर्दा केसी पनि संस्थापकमध्येका एक हुन् ।

कृष्ण थापा (प्रदेश सांसद एवं पोखराका पूर्व मेयर)

मैले यतिबेला अभिभावक गुमाएको महसुस गरेको छु । विकासप्रेमी, समाजसेवी, सामाजिक व्यक्तित्व उहाँको पहिचान थियो । सफल उद्यमी, व्यवसायी उहाँ पोखराको विकासको बारेमा सदा चिन्तित हुनुहुन्थ्यो । उद्योग क्षेत्रका पायोनियर हुनुहुन्थ्यो । पोखराको समग्र विकासका लागि भिजन दिनसक्ने व्यक्ति हुनुहुन्थ्यो । यसपालिको दसैंँको बेलामा पनि उहाँसँग फोनमार्फत् शुभकामना आदानप्रदान भएको थियो । निधनको एक साताअघि पुनः कुराकानी भएको सम्झना छ । राजनीति, उद्योग लगायत विविध क्षेत्रमा उहाँको निधनले अपूरणीय क्षति पुगेको छ ।

आनन्दराज मुल्मी (नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष)

समग्रमा सीताराम (सूर्यबहादुर) परिश्रमी, लगनशील, महत्वकांक्षी, धेरै अवसरको खोजी गर्नेखालका व्यक्ति थिए । आफ्नो ज्ञानसीप सामाजिक रुपमा प्रयोग गरे । आफू समाजमा स्थापित हुन खुबै मेहनत गरे । साथै क्रमशः राजनीतिमा होमिए । किनकि बाबु कीर्तिबहादुरको पनि एउटै चाहना थियो–छोरा ठूलो मानिस बनोस् ।
कीर्तिबहादुर पोखराका सबैभन्दा पुराना निर्माण व्यवसायी हुनुहुथ्यो । प्रायःजसो मेरो बुवा (प्रेमराज मुल्मी) सँग उहाँको सम्बन्धको कारण भेटघाट हुन्थ्यो । छोरा सूर्यबहादुरलाई हातमा डोर्‍याएर हाम्रो घर आउनुहुन्थ्यो । छोराहरुलाई पढाउनुपर्छ, ठूलो मानिस बनाउनुपर्छ भनिरहनुहुन्थ्यो ।
बाबुको निधनपछि सम्पूर्ण जिम्मेवारी सीतारामको काँधमा आयो । केसी कन्ट्रक्सनको नाममा विभिन्न ठेक्कापट्टा लिने र निर्माण व्यवसायीतर्फ उनले ध्यान दिन थाले । सुरुदेखि नै जहाँजहाँ अवसर हुन्थे, उपयोग गर्ने गर्दथे । यो क्षेत्रको उच्च कोटीको ठेकेदारको रुपम स्थापित भए । लगानी गर्ने उत्सुकता जाग्दै गयो । सीतारामको ध्यान निर्माण व्यवसायका अलावा खाद्य क्षेत्रहुँदै क्रमशः हाइड्रो, घरजग्गा, बैंकिङ, शिक्षा, मिडिया लगायत क्षेत्रमा भयो । सीतारामले समाजमा क्रमशः आफ्नो पहिचान स्थापित गर्दै लगे । पोखरामा प्रधानपञ्चसँगै उनी राप्रपामा आबद्ध भए । सुरुवातदेखि नै राजावादीको पक्षपाति गरेका उनले राजनीति सुरुवात गरे । उनी प्रधानपञ्च भएको बेलामा म त्यसबेला नेपाल उद्योग वाणिज्य महासंघमा थिएँ। मैले त्यसबेला भनेको थिएँ-पोखरामा खाँचो रहेको सभागृह निर्माण गर्नू । उनले त्यसको गतिलो सुरुवात गरे । पछि महेन्द्रपुल निर्माणमा पनि सहकार्य गर्‍याैं ।  उनमा केही गर्न खोज्यो भने जसरी पनि पूरा गर्ने लगनशीलता थियो । यसैको प्रतिफल असफलता बेहोर्नुपरेन ।
२०४६ सालपछि बहुदलीय व्यवस्था आयो । उनी राप्रपामै थिए । २०७० सालमा राप्रपाबाट संविधानसभा सदस्य बने । उनले उद्योग व्यवसायका अलावा राजनीतिमा पनि आधिपत्य जमाउँदै गए । सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीबाट विभिन्न धाकधम्की आउने गर्दथ्यो । सो कुरा उनले हामीलाई पनि सेयर गर्थे । त्यसैले पनि उनी उद्योग व्यवसायका अलावा राजनीतिमा स्थापित हुन चाहन्थे ।
पछिल्लो समयमा सबैखालको परिवर्तनसँगसँगै २०७० सालतिर उनमा पनि स्वास्थ्यमा समस्या देखियो । आफ्नो सुरक्षासहित सम्पत्तिको संरक्षणको लागि सोचे । त्यसपछि २०७४ सालको निर्वाचनअघि राप्रपा छोडेर नेपाली काँग्रेसमा प्रवेश गरे । उनी अवसरलाई सदुपयोग गर्ने चतुर खेलाडी थिए । उनी राजनीतिमा स्थापित हुन चाहेरै होला काँग्रेसले पनि उनलाई समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनायो र आमन्त्रित केन्द्रीय सदस्यको पद दियो । यसरी केसी आफ्नो रणनीतिमा पनि सफलता प्राप्त गरे । पछिल्लो कालकाण्डमा समाजसेवीको रुपमा स्थापित हुन चाहे । त्यसैले उनीसँग अरूले यज्ञ, महायज्ञ, क्लब, महिला समूह, विभिन्न संघसंस्थाले आर्थिक लाभ प्राप्त गर्न खोजे । आफूहरु कुनै न कुनै कार्यक्रमको लागि आर्थिक सहयोगार्थ माग्न आउनेहरुलाई उनले रित्तो हात फर्काउँदैनथे।

सुशील गोशली (वरिष्ठ उद्योगपति)

पोखराका वरिष्ठ उद्योगपति स्व. सूर्यबहादुर केसी हिम्मतिला र सकारात्मक ऊर्जा दिने व्यक्ति थिए । समाजका लागि केही गर्नुपर्छ भन्ने उनको स्वभाव थियो । सधैँ काम गरिरहनुपर्छ भन्थे । उद्योग व्यवसायका क्षेत्रमा लगानी गर्ने विषयमा कुनै पनि कुरामा पछि हट्दैनथे । साझेदारीको अवधारणा रुचाउँथे ।

गणेशबहादुर श्रेष्ठ (वरिष्ठ उद्योगपति)
उमेरले आफूभन्दा धेरै कान्छो भए पनि पहिलो भेटमै प्रभावित भएको थिएँ । बाबुको विरासत काँधमा लिएर उद्योग व्यवसायलाई अघि बढाएर सफलता प्राप्त गरे । पहिलेदेखि नै धर्म र संस्कारमा विश्वास गर्ने उनको स्वभावको थियो । समयअनुसार परिमार्जन हुन सक्ने उनकै परिकल्पनामा नेपालमै स्थापित माछापुच्छे« बैंक जन्मियो । सानै उमेरमा पोखराको प्रधानपञ्च हुँदा त्यसबेला विन्ध्यवासिनी मन्दिरमा भौतिक संरचना थप्न ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । सबैसँग मिल्ने उनको अर्को राम्रो पक्ष थियो ।

दुर्गा कोइराला (अधिवक्ता)

निर्माण व्यवसायीमा उहाँ पोखराकै एक धरोहर हुनुहुन्थ्यो । उहाँको यस क्षेत्रमा विशेष ज्ञान भएकोले प्रधानपञ्च भएपछि सडक र भवनहरुमा इन्जिनियरले गरेको इन्स्टिमेन्टमा कटौती गरेर आफैले खर्च निकाली दुई बिल्डिङमा लाग्ने लागतले ३ वटा बिल्डिङ बनाउने र २ बाटो बनाउने खर्चमा ३ बाटो बनाउनु हुन्थ्यो । तत्कालीन नगरपञ्चायतमा भएको भाँडभैलो रोक्न उहाँले पहल गर्नुभयो । सदा सुशासनको पक्षमा लाग्नुभयो । ७ महिनासम्म नगरपञ्चायतका कर्मचारीले तलब खान नपाएको अवस्थामा उहाँ निर्वाचित भएपछि तलब खुवाउनु भयो । नगरपञ्चायतको वार्षिक राजश्व संकलन दोब्बर बनाउनुभयो । सानै उमेरमै प्रधानपञ्च भएपनि राजनीतिमा दूरदर्शी र सुझबुझको निर्णय गर्न पछि पर्नुभएन । तत्कालीन दीपेन्द्र गृह हालको पोखरा सभागृह र पोखरा महेन्द्रपुल निर्माण उहाँकै देन हो । भ्रष्टाचारको विरोध गर्दै राजनीतिमा प्रवेश गर्नुभएको हुँदा राजनीतिलाई कहिले पनि कमाइखाने भाँडो बनाउनुभएन र भ्रष्ट प्रवृत्तिको राजनीतिको सदा विरोध गर्नुभयो । समाजमा ओमकार परिवारको उहाँको विशेष लगाव थियो ।

रमेश पौडेल (रेडियो बाराही कार्यकारी निर्देशक एवं वान पूर्व उपाध्यक्ष)

स्व. केसी मिडियामैत्री हुनुहुन्थ्यो । समयअनुसार उद्योग व्यवसाय क्षेत्रमा हात हाल्नुभयो र सफल पनि हुनुभयो । वाककला भएको हुँदा मिडियासँग भाग्ने नभई सधैँ मिडियालाई आकर्षित गर्ने खुबी उहाँमा थियो । सधैँ उहाँले कन्टेन्ट पस्किदिनुहुन्थ्यो । आर्थिक बिटमा कलम चलाउने पत्रकारहरुको लागि स्रोतको रुपमा उहाँ आर्थिक क्षेत्रका ज्ञाता मानिनुहुन्थ्यो । सधैं मिडियासँग टच भइरहने र राजनीतिमा पनि सक्रिय भएकोले पनि हरेक वर्ष दसैँंतिहारको बखत पत्रकारसँग जमघट गरी आपसमा शुभकामना आदानप्रदान गर्न रुचाउनुहुन्थ्यो । मिडिया नै जनताको जनताको बीचमा जाने र दुःखसुखको साथी हो भन्ने धारणा राख्ने उहाँकै अवधारणामा रेडियो बाराही जन्मियो । साथै पोखराकै इतिहासमै अहिलेसम्मकै बढी धनराशिको कीर्ति पत्रकारिता वृत्ति विकास सम्मानको लागि ११ लाख रुपैयाँको अक्षयकोष स्थापना भयो । जुन पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको छ । यस्तै, प्रेस युनियन कास्कीले संचालन गर्ने गरी उहाँले सूप्रेम शारदा पत्रकारिता पुरस्कार संचालनार्थ गत वर्ष ६ लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads