बस दुर्घटनामा ९ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७७
accident

पोखरा, २८ कात्तिक । बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बिहीबार राति बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझाको सो दुर्घटनामा मृत्यु भएको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका–१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतकमध्ये कृतिकाको उपचारका क्रममा र अन्य ८ को घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width