‘मनोरञ्जनका क्षेत्रमा काम गर्नेहरु सकसमा’

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७७
dance bar symbol

डान्स बारमा कार्यरत युवतीहरु । सांकेतिक तस्वीर ।

पोखरा, २८ कात्तिक । मनोरञ्जनका क्षेत्रमा काम गर्नेहरु समाजमा खासै खुल्दैनन् । उनीहरुको पेसा जति आन्तरिक छ, उत्ति नैसमस्या विकराल छ । समाज र परिवारले पेसालाई स्वीकार नगर्दा जागिरका बेला आइपर्ने समस्या उनीहरुले खुलेर कसैसँग भन्न पनि सक्दैनन् ।

शक्ति समूहको अध्ययनले कोरोनाका बेला यस्तो क्षेत्रमा काम गर्नेहरु भोकभोकै बस्नुपरेको देखाएको छ । ‘समाजमा खुलेर भन्न सक्दैनन् । कोरोनाले जागिर गुमाएका छन्,’ अध्ययनले भन्छ, ‘लकडाउनमा रोजगारदाताले पारिश्रमिक नदिँदा कतिपय भोकभोकै बस्न बाध्य भए ।’

‘समाजमा खुलेर भन्न सक्दैनन् । कोरोनाले जागिर गुमाएका छन्,’

समूहले यस्तै क्षेत्रमा काम गर्ने महिला र बालिकाहरुको दैनिकीमा सघाउँदै आएको छ । लकडाउन अवधिमा मात्रै विभिन्न संघसंस्थाको समन्वयमा समूहले मनोरञ्जनका क्षेत्रमा काम गर्ने १ सय ५ जना महिलाहरुलाई खाद्यान्न सहयोग गरेको छ । दुई सय २१ जनालाई मनोविमर्श सेवा दिएको छ । जसमध्ये १ सय ६ जना कोरोना पोजिटिभ थिए । १० जनालाई आत्मनिर्भर बनाउन व्यूटीपार्लरसम्बन्धी तालिम दिइएको छ । ४५ जनाले जीवनोपयोगी सीपबारे जानकारी लिएका छन् । मनोरञ्जनका क्षेत्रमा हुने श्रम अनौपचारिक भएकोले राज्यका ऐन नियमहरु खासै कार्यान्वयन भएका छैनन् । अहिले त्यसैको पीडामा श्रमिकहरु परे ।

‘श्रमिकप्रति सकारात्मक सोच र व्यवहार छैन । नीति नियम कार्यान्वयन पनि भएको पाइँदैन,’ समूहकी परियोजना संयोजक नीरा दुलाल भन्छिन्, ‘कति महिला र बालिकाहरु हिंसामा परेका छन् । उनीहरुलाई उद्धार गरे पनि परिवारमा पुनर्मिलन गर्न सकिएको छैन ।’ समूहले समय–समयमा यस्ता ठाउँबाट महिलाको उद्धार गर्दै आएको छ । उनीहरुलाई जीवनोपयोगी सीप दिने र व्यवसाय चलाउन बिउपुँजीको व्यवस्था गर्न सके समस्या घट्दै जाने उनको सुझाव छ । तर राज्यले उनीहरुको संरक्षणमा ठोस कदम नचालेको समूहकी अध्यक्ष चरिमाया तामाङ बताउँछिन् । ‘लकडाउनले धेरैको मानसिक तनाव बढायो । बढी पीडित यही क्षेत्रमा काम गर्ने श्रमिकहरु छन्,’ उनले भनिन्, ‘तर त्यसको सही व्यवस्थापनमा राज्यले सहयोग गरेको छैन । पीडितको समस्या सुनेको छैन ।’

बिहीबार सरोकारवालासँग अन्तरक्रिया गर्दै शक्ति समूहले मानव बेचविखन र मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई कोभिड–१९ ले पारेको तथा पार्न सक्ने सम्भावित जोखिमबारे जानकारी गराएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारीले कोरोनाको प्रभावमा सबै क्षेत्र गाँजिएको बताए । ‘कोरोनाले नपिरोलेको ठाउँ कुन बाँकी छ र ?,’ उनले भने, ‘बढी समस्या महिला र त्यसमाथि पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुमा परेको छ । उनीहरुलाई राज्यले विशेषरुपले हेर्छ ।’ उनले आगामी दिनमा बिनासम्झौता काममा नलाग्न सुझाए ।

गैरसरकारी संस्था महासंघ गण्डकी अध्यक्ष वीना सिलवालले राज्यले कानून पूर्ण पालना गराइदिएमात्रै धेरै समस्याको समाधान हुने दाबी गर्छिन् । ‘कानून बन्छ कार्यान्वयन हुँदैन । पीडितका समस्या सुन्ने निकाय छैन,’ उनले भनिन् । कार्यक्रममा श्रम तथा रोजगार कार्यालय प्रमुख दीपक रेग्मी, सामाजिक विकास मन्त्रालयकी कानून अधिकृत संगीता महर्जन, पोखरा महानगरपालिका सामाजिक शाखा अधिकृत विष्णुमाया पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाकी सामाजिक कार्यकर्ता विन्दु आचार्यले स्वागत र कार्यक्रममाथि प्रकाश पारेकी थिइन् भने सरिता पौडेलले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width