पोखरा, २८ कात्तिक । फेवाताल २०१८ सालमा १० वर्ग किलोमिटर फराकिलो थियो । २०३४ मा ५.१७ वर्ग किमी । २०३८ मा पुग्दा ५.८ वर्ग किमी । २०५२ मा ४.४९ वर्ग किमी र २०५८ मा ४.२५ वर्ग किमी । मानवीय र प्राकृतिक कारणले प्रत्येक अध्ययनमा फेवाताल खुम्चिँदै गएको देखिन्छ । वर्षेनी ८.७ हेक्टर क्षेत्र खुम्चिएको अध्ययनले देखाएको छ । इन्डियन सर्भेदेखि २०५८ सालको नापीसम्म तालको क्षेत्रफल ६० प्रतिशत पुरिएको र १ सय वर्षभित्रै ताल जमिनमा परिणत हुने निष्कर्ष निकालिएको थियो । प्रत्येक वर्ष तालमा १ लाख ८० हजार घनमिटर गेग्रान पुग्ने तथ्याङ्क छ । जिविस कास्कीले २०५८ मा गरेको अध्ययनबाट तालको क्षेत्रफल ४.२५ वर्ग किलोमिटरमात्रै रहेको उल्लेख गरेको छ । सन् १९५७ मा पहिलो पटक तालमा इन्डियन सर्भे गरिएको थियो ।
राष्ट्रिय ताल संरक्षण विकास समितिले २०६४ मा फेवातालको मापदण्ड ६५ मिटर कायम गर्नुपर्ने निर्णय गरेको थियो । त्यसकै आधारमा अहिले तालको सिमाङ्कन गर्न लागिएको छ । नापी विभागले २०२१ पछि मात्रै नापनक्सा सुरु भएको भन्दै त्यसपछिको क्षेत्रफल कायम गर्न सुझाए पनि सर्वोच्च अदालतले सबै आधार र प्रमाणका आधारमा सीमा निर्धारण गर्न सरकारलाई आदेश दिएपछि नयाँ नापजाँच गर्न लागिएको हो ।
२०६८ सालमा विश्वप्रकाश लामिछाने संयोजकत्वको टोलीले तयार गरेको प्रतिवेदनलाई प्रमुख आधार मान्न सकिने अदालतको फैसलामा उल्लेख छ । फेवाताल अतिक्रमण जग्गा छानबिन समितिले बनाएको प्रतिवेदनमा १२ हजार ८ सय ७४ रोपनी तालको क्षेत्रफल रहेको र त्यसमा ९ हजार ९ सय ५५ रोपनी पानीको क्षेत्रफल, ५ सय ६२ रोपनी सीमसार, २ हजार १ सय १ रोपनीमा खेती गरिएको र १ सय ६५ रोपनी पर्ति जग्गा उल्लेख गरिएको छ । १ हजार ६ सय ९२ रोपनी जग्गा अनियमित रुपमा दर्ता भएको पनि प्रतिवेदनले देखाएको छ । १९९० सालको तिरो, २०३१ मा बाँध फुट्दाको अवस्था, २०३४ मा भएको नापी, २०६४ को ग्राण्ड सर्भेलाई आधार मानेर लामिछाने समितिले प्रतिवेदन बनाएको हो । भूमिसुधार मन्त्रालयले २०७२ सालमा प्रतिवेदन बनाएर तालको क्षेत्रफल ५.१७ वर्ग किलोमिटर कायम गरेको छ ।
तत्कालीन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य पौडेलको संयोजकत्वमा समिति गठन
२०७५ बैशाखमा सर्वोच्च अदालतले ६ महिनाभित्र चार किल्ला तोक्न, व्यक्तिका नाममा दर्ता भएका तालभित्रका जमिन कायम गर्न र त्यो बदर गर्न १ वर्षको समय तोकेर फैसला सुनाएको थियो । अनाधिकृत रुपमा बनेका संरचना ६ महिनाभित्र हटाउन पनि अदालतको आदेश थियो । फैसलाको साढे २ वर्षसम्म कार्यान्वयन भएन । मानहानीको मुद्दा खेपिरहेका तीनवटै सरकार बल्ल तालको सीमा निर्धारण र अतिक्रमण रोक्ने काममा लागेका छन् । अघिल्लो महिना तत्कालीन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य पौडेलको संयोजकत्वमा समिति गठन भएको थियो । बिहीबार कार्यालय स्थापना गरेर समितिको पहिलो बैठक बसेको छ । एकसाता भित्रै प्राविधिक टोली बनाएर फेवातालको सीमा अध्ययन सुरु गर्ने निर्णय गरिएको छ ।
तीन महिनाभित्र सीमा तोक्नुपर्ने सहित सरकारले समितिलाई सातबुँदे शर्त दिएको छ । अभिलेख, तथ्य, प्रमाण र सरोकारवालाको सुझाव, स्थलगत अवस्थितिका आधारमा चार किल्ला तोक्ने, यसको चार किल्ला र नक्सा तयार गर्ने तथा क्षेत्रफल यकिन गर्न नापी कार्यालयलाई निर्देशन दिने, त्यो नक्सा निर्णयका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने, दूषित जग्गाको लगत तयार गर्ने र खारेजीको लागि मालपोत कार्यालयमा पठाउने, फेवातालको दीर्घकालीन योजना बनाउन आवश्यक भए सुझाव दिने, २०७७ साउन ५ को मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि आवश्यक सुझाव दिनुपर्ने छ । समितिले माघ २७ अघि नै सिमाङ्कन गरिसक्नु पर्ने छ ।
समितिका संयोजक पुण्य पौडेलले सकेसम्म तोकिएकै मितिमा सिमाङ्कन लगायतका काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘३ महिनाभित्रै सक्न भरमग्दुर प्रयास गर्छौं,’ उनले भने, ‘जटिल काम भएकोले सबैको साथ आवश्यक छ । अब दोहोर्याएर अध्ययन गर्नु नपर्ने गरी प्रतिवेदन बनाउछौं ।’
नेपाल सरकारले २०३० सालमा ड्याम बनाएर फेवाको पानीबाट १.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । नेपालमा पाइने ८ सय ८४ प्रजातिका चरामध्ये फेवा आसपासमा मात्रै ४ सय ६० प्रजातिका भेटिन्छन् । आर्थिक, पर्यटकीय र जैविक हिसाबले समेत फेवालाई निकै महत्वका साथ हेरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बर्खामा हुने पानीको सतहलाई आधार मानेर ६५ मिटर मापदण्ड कायम गर्नुपर्ने बताए । ‘पानी घटेको समय होइन । बर्खालाई आधार मान्नुपर्छ,’ उनले भने, ‘फेवाताल राज्यको सम्पत्ति हो भने संरक्षणमा निर्ममतापूर्वक लाग्नुपर्छ । त्यसका लागि महानगर तयार छ ।’ पोखरा महानगरपालिकाले प्रदेश सरकार र नापी कार्यालयसँगको सहकार्यमा मापदण्ड र लागतसम्बन्धी अध्ययन गरेर प्रतिवेदन बनाएको छ । सात महिना अवधिमा तयार गरिएको प्रतिवेदनमा ६५, ३५ र ३० मिटरका छुट्टाछुट्टै मापदण्डमा अध्ययन गरिएको हो । अहिलेको सरकारले पनि सिमाङ्कन र संरक्षणको काम गर्न नसके ताल नजोगिने उनको भनाइ छ ।
भूमि सुधार मन्त्री पद्मा अर्यालले फेवातालको अतिक्रमित जग्गा कानून अनुसार नै फिर्ता ल्याउने दाबी गरिन् । ‘तालको जग्गा व्यक्तिका नाममा दर्ता गरिएका छन् भने सरकारले फिर्ता ल्याएरै छाड्छ । तर त्यसका लागि तथ्य र प्रमाण जुटाउनुपर्छ,’ उनले भनिन्, ‘तालको शाख जोगाउन सरकार प्रतिबद्ध छ । कुनै पनि कुराले पछि हट्नवाला छैन ।’ पुराना अध्ययन प्रतिवेदनलाई समेत आधार मानेर इमान्दारिताका साथ सिमाङ्कन गर्न मन्त्री अर्यालले समितिलाई निर्देशन दिइन् । सीमा निर्धारण भएपछि बजेट अभावले तालको विकास नरोकिने उनले बताइन् । फेवा सहितका कास्कीका ९ वटा ताल ४ वर्षअघि रामसार सूचीमा सूचिकृत भैसकेका छन् ।
Related News
सम्बन्धित समाचार
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’
कथा सुन्न भक्तजनको आकर्षण
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१