पोखरामा अल्ट्रालाइट उडान आजदेखि

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७७
ultralight 2

पोखरा । कोरोना भाइरस प्रभाव कारण लामो समयदेखि बन्द रहेको पोखराको अल्ट्रालाइट सेवा बुधबारदेखि संचालनमा आउने भएको छ ।

सरकारले गत वर्ष चैत ११ देखि लकडाउनसँगै विभिन्न समयमा निषेधाज्ञा गरेपछि अल्ट्रालाइट बन्द हुँदै आएको थियो । आन्तरिक हवाई उडानसँगै उडान अनुमति दिइए पनि ग्राहक अभाव तथा कम्पनीको आन्तरिक व्यवस्थापन पर्याप्त नहुँदा उडान हुन सकेको थिएन ।

यसैक्रममा पोखरा अल्ट्रालाइट प्रालिले बुधबार बिहान ७ बजे पोखरा एयरपोर्टबाट पहिलो उडान भर्दैछ । कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने हेतुले कोरोना महामारीबीच पनि आवश्यक स्वास्थ सुरक्षा कायम गर्दै उडान सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार पहिलो दिन ४ वटा उडान हुने छन् । यो उडान कोरोना महामारीका कारण साढे ७ महिनापछिमात्र पुनः संचालन हुन लागेको हो ।

प्याराग्लाइडिङ कम्पनीले साविक दररेटमा आधा छुट गरेपछि आन्तरिक पर्यटकको घुइँचो थामिनसक्नु भएको बेला अल्ट्रालाइटमा भने यति नै छुट गर्ने भन्नेबारे यकिन भइनसकेको श्रेष्ठले बताए । उनका अनुसार बिस्तारै केही रकम छुट दिइनेछ ।

अल्ट्रालाइटमा उडेर पोखराको आकाशमा कम्तीमा १५ मिनेटसम्म रमाउँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । थप समयअनुरुप दररेट पनि थप हुँदै जान्छ ।

पोखरामा अल्ट्रालाइट उडान भर्ने विभिन्न ४ कम्पनी छन् । सबैभन्दा सुरुवातमा एभिया क्लबले यहाँको आकाशमा २५ वर्षअघि साहसिक अल्ट्रालाइट सेवा सुरुवात गरेको हो ।

एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिका अलावा फिस्टेल अल्ट्रालाइट र हेली एयरले पोखरामा अल्ट्रालाइट उडान भर्दै आएका हुन् ।

यी चारमध्ये पोखरा अल्ट्रालाइटले पुनः उडान सुरु गरिसक्दा अन्यले भने तयारी गरिसकेका छैनन् ।

फिस्टेलले अल्ट्रालाइटका प्रबन्ध निर्देशक पारस गौतमले विषम परिस्थितिबीच तत्काल सुरुवात गर्ने अवस्था नरहेको बताए । उनले सहज वातावरण आइसकेपछि उडान भर्ने तयारीमा आफूहरु रहेको जानकारी दिए ।

विश्वमै पर्यटकीयरुपमा ख्याती कमाएका अल्ट्रालाइटहरु पोखरामा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत मातहत संचालित छन् । यो सेवा साहसिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । अल्ट्रालाइट जहाजमा उडेर पोखरा सहर, फेवाताल, हिमाल अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटक आकर्षित हुन्छन् । अल्ट्रालाइटमा पाइलटका अलावा अर्का एक जनामात्र उड्न मिल्छ । पोखरा घुम्न आउने ३० प्रतिशतभन्दा बढीले साहसिक खेलकुदमा रुचि राख्ने गरेका छन् ।

पोखरामा प्याराग्लाइडिङ उडान भने गत असोजदेखि नियमित संचालनमा आएको हो । उडानमा ५० प्रतिशतसम्म छुट दिँदा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नेपाल हवाइ खेलकुद संस्था (ना) अन्तर्गत प्याराग्लाइडिङ कम्पनी पोखरामा कुल ६१ छन् । तीमध्ये हाल करिब ५० कम्पनी संचालनमा रहेको ना अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पोखरामा संचालित अर्को साहसिक खेल जीप फ्लायर पनि पुनः संचालनमा आइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width