‘चालकसँग १ मिनेट’ अभियान सुरु

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७७
Police

पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाइरस संक्रमण फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले सडक प्रयोगकर्ता चालकसँग १ मिनेट अभियानको सुरुवात गरेको छ ।

दिनप्रतिदिन बढ्दो सवारी चाप तथा बढ्दो सवारी दुर्घटना ट्राफिक सचेतनामार्फत न्यूनिकरण गर्ने साथै प्रदेशभरि नै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गराई संक्रमणलाई फैलन नदिन उक्त अभियानको थालनी गरिएको हो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले पोखराको औद्योगिक क्षेत्रस्थित व्यानरसहित विभिन्न सवारी साधनका चालकहरुसँग ट्राफिक सचेतना तथा कोरोना भाइरस संक्रमणबाट बच्ने उपायबारे १ मिनेट सहजीकरण गरी उक्त अभियानको सुरुवात गरेका हुन् ।

अभियानअन्तर्गत गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला ट्राफिक कार्यालयहरुले समेत आइतबारदेखि नै जिल्लाअन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गर्नेछन् ।

प्रहरी उपरीक्षक ढकालले उक्त अभियानसँग ट्राफिक प्रहरीको चालकमैत्री व्यवहार एवं कुशल कार्यदक्षता समेत जोडिएकाले यसबारे सन्तोषजनक प्रतिक्रियाहरु आइरहेको बताए ।

अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी राजमार्ग तथा ग्रामिण सडकहरुमा समेत आगामी दिनमा थप कडाइसाथ ट्राफिक नियमको पालना गराई सवारी दुर्घटना न्यूनीकरणका लागि आफूहरु अग्रसर रहने प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width