अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु: अमेरिकी राष्ट्रपति बाइडेन

रासस
कार्तिक २३, २०७७
waiden

वासिङटन, २३ कात्तिक: संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मतसहित कूल २७३ मत प्राप्त गर्नुभएसँगै विजयी घोषणा गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) मध्ये २७० मत आवश्यक पर्दछ ।

गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित भएका हुन् । अन्य राज्य जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा जारी छ ।

कुनै पनि अमेरिकी राष्ट्रपतिले यतिधेरै मत प्राप्त गरेको यो पहिलो पटक हो ।

बाइडेनले देशभरबाट सात करोडभन्दा बढी मत प्राप्त गरेका छन् । कुनै पनि अमेरिकी राष्ट्रपतिले यतिधेरै मत प्राप्त गरेको यो पहिलो पटक हो । राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । उनले चुनावी नतिजालाई लिएर कानुनी लडाइँमा जाने धम्की दिइरहेका छन् ।

राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा सिनेटर कमला ह्यारिस पनि निर्वाचित भइन् । उनी उपराष्ट्रपति पदमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–दक्षिण एसियाली–अमेरिकी मूलकी हुन्।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्वीट गर्दै आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिन निकै कठिन रहेको बताउँदै आफूले सबैलाई सम्मानजनक व्यवहार गर्ने बताए ।

राष्ट्रपति निर्वाचित बाइडेनले गृहराज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, “विश्वभर अमेरिकाको प्रतिष्ठा उँचो बनाउन र देशभित्रै आमजनतालाई एकताबद्ध बनाउन विशेष ध्यान दिनेछु ।”

उनले भने, “हामीले एकअर्का अमेरिकीलाई शत्रुका रुपमा व्यवहार गर्नु हुन्न र त्यस्तो कार्य तत्काल बन्द गर्नु पर्दछ । हामी दुश्मन होइनौं, हामी सबै अमेरिकी हौं ।”

कोरोना भाइरसका कारण दुई लाख ३६ हजारको मृत्यु भइसकेको र भाइरसकै कारण देशको अर्थतन्त्र धर्मराएको अवस्थामा ७७ वर्षीय बाइडेनका अघिल्तिर भाइरस नियन्त्रणमा ल्याउने, रोजगारी वृद्धि गर्ने तथा अर्थतन्त्र माथि लैजाने गम्भीर चुनौती छ ।

डेलावेयरको सभामा स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आम जनताले यसपटक एकता, प्रतिष्ठा, विज्ञान र सत्यलाई मतदान गरेको बताएकी हुन् । उनले जो बाइडेनले प्रत्येक अमेरिकी नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्ने दूरद्रष्टा नेता रहेको बताइन् ।

राष्ट्रपति ट्रम्पले भने चुनावमा परास्त भएको स्वीकार्नु गरेका छैनन् । उनले आफूले कानुनी चुनौती दिने बताएका छन् । तर यस्तो चुनौतीका बारेमा प्रष्ट भइसकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width