म्याग्दीका तीन स्थानीय तह बन्द

साधन राम्जाली
कार्तिक २०, २०७७
darbang

म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङ बजार । तस्बीरः साधन राम्जाली/आदर्श समाज

म्याग्दी, २० कार्तिक । कोरोना संक्रमितको संख्या बढ्ढै गएपछि म्याग्दीका तीन स्थानीय तह बन्द भएका छन् । समुदायस्तरमा लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि जिल्लाको बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द भएका हुन् ।

जनप्रतिनिधि, व्यवसायी तथा कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बेनी र व्यापारिक दरबाङ बजार बन्द भएका छन् । कार्तिक १४ गतेदेखि बेनी नगरपालिका र बजार बन्द छन् भने मालिका र दरबाङ बजार बुधबारदेखि बन्द भएका हुन् ।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगला गाउँपालिकाले असोज अन्तिम सातादेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो । मालिका गाउँपालिकाले बिहीबारदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गर्ने जनाएको छ । गाउँपालिका कार्यालयबाट अत्यावश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले जानकारी दिए ।

यसैगरी म्याग्दीको सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ ।

पालिकाको बजार क्षेत्रमा पर्ने वारीबेनी, लामाखेत, मिलनचोक, मोहनचोक, लस्ती बजार र बगरफाँट क्षेत्रका पसल, व्यवसायसमेत बन्द गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लद्वारा जारी सूचनामा उल्लेख छ । म्याग्दीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १०८ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एक नारायण लम्सालले जाकनारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width