मानुङमा पर्यटकको ओइरो

सविन लामिछाने
कार्तिक १९, २०७७
manung

दमौली । चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासले तपस्या गरेको व्यासभूमिको शिरमा रहेको छ, मानुङ । पर्यटकीय क्षेत्रसँगै मानुङको इतिहास पौराणिककालसँग पनि जोडिएको छ । उनै वेदव्यास जन्मनुको कथासँग मानुङको गहिरो सम्बन्ध छ ।

परापूर्वकालमा व्यासका पिता पराशर ऋषि माझीकी छोरी मत्स्यगन्धासँग प्रेम गरेको थालेका बेला लोकले थाहा नपाऊन् भनेर मानुङ डाँडाबाट कुहिरो उत्पन्न गरिदिएको प्रसंग धार्मिक ग्रन्थहरूमा सुन्न पाइन्छ । त्यही कुुहिरो उत्पन्न गर्ने मानुङ गाउँ अहिले आफ्नो ऐतिहासिकता र प्राकृतिक सौन्दर्यले पर्यटकको पर्खाइमा छ ।

तनहुँ सदरमुकाम दमौलीको पश्चिममा ठडिएको मानुङ पुगिसकेपछि स्वर्गलाई बिर्साउने ठाउँ हो भन्दा फरक पर्दैन । बिहानी समयमा उत्तरतर्फ लमतन्न परेका हिमशृंखलाहरू देख्दा जो कोहीलाई पनि धर्तीकै स्वर्गमा पुगेको अनुभव हुन्छ । मानुङबाट देखिने सदरमुकाम दमौलीको दृश्यले छुट्टैै रोमाञ्चकता प्रदान गर्छ ।

पृथ्वीराजमार्गबाटै देखिने र केही घन्टाको दूरीमा रहेको मानुङ जानका लागि कालोपत्रे सडक विस्तार हुँदै गइरहेकाले पहिलेको तुलनामा यातायात सुगमता बढ्दो छ । पहिले घन्टौंको उकालो चढेर पुग्नुपर्ने मानुङ कठिन गन्तव्यका रूपमा चिनिएको थियो । तर अहिले समय बदलिएको छ । व्यास नगरपालिकाको चापाघाटबाट मोटरसाइकल तथा साना गाडी लिएर मानुङ पुग्न सकिने भएको छ । यसले पृथ्वीराजमार्गहुँदै यात्रा गर्ने जो कोहीका लागि पनि मानुङ प्राकृतिक वातावरणमा रमाउँदै थकाइ मेटाउने गन्तव्य रहेको छ ।

पछिल्लो समयमा यहाँ पर्यटकको आगमन बढेकाले दुःख गरेर गाउँमै बसेका स्थानीयमा खुसी बढ्दै गएको लीलामाया आलेले सुनाइन्। उनले भनिन्, ‘कोरोनाको कहरमा पनि मानुङमा पर्यटकहरु भित्रिरहेका छन् । कोरोनाको निकै डर छ ।’ कोरोनाको कहरबीचमा पर्यटक भित्रिरहँदा पनि स्थानीय तहले केही पनि लाभ लिन सकेको छैन । पर्यटन भित्रिरहँदा स्थानीय तहको तयारी नहँुदा लाभभन्दा चुनौती थपिएको छ । मानुङमा अहिले फोहोर व्यवस्थापन गर्न चुनौती थपिएको छ । वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पर्यटकीय गन्तव्य बनेसँगै फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखिएको बताए । उनले वडाबाट पर्यटकीय क्षेत्रको रुपमा पहिचान गरि विकास गर्नेक्रम जारी रहेको बताए । उनले भने,‘वडाबाट पर्यकीय स्थलको पहिचान गरी विकास गर्ने तीव्र गतिमा छौं,’ उनले थपे, ‘विभिन्न पर्यटकीय पूर्वधार निर्माणक्रममा छन् ।’

फोहरमैला व्यवस्थापनका लागि बुधबारबाटै मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरिएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष श्रेष्ठ लगायतको टोलिले मंगलबार सरसफाई गरि मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरेको हो । नगरप्रमुख न्यौपानेले भने, ‘पर्यटन क्षेत्रको रुपमा विकसित हुँदै गइरहेको छ । दीर्घकालीन योजना सहित अझ पर्यटक भित्राउने हामी लागेका छौं।’

मानुङ व्यास नगरपालिका र आसपास भएर बग्ने मादी, सेती, साँगे र गुणादी खोलाले घेरिएको छ । प्राकृतिक हिसाबले सुन्दर र दमौलीको प्राकृतिक छानोका रूपमा रहेको मानुङबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला प्रस्ट नियाल्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width