अस्ताए पोखराका सूर्य

प्रकाश ढकाल
कार्तिक १९, २०७७
surya

पोखरा । केही समयदेखि मधुमेहले थिचिरहेको थियो । दैनिक कामकाज रोकिएको थिएन । तर संसद् बैठकमा उपस्थित नभएको लामै समय भैसकेको थियो । सांसद तथा उद्योगपति सूर्यबहादुर केसी सोमबार सामान्य अवस्थामै सुते । राति एक्कासी सूगर घटेपछि केसीको सुतिरहेकै अवस्थामा निधन भयो । उनले देहत्याग गरेको अप्रिय खबर मंगलबार बिहानै एकाएक फैलियो । साथै अप्रत्यासित वर्षा समेत भयो । मानौ उनको शोकमा पोखरा रोइरहेको छ ।

स्व. केसीको मंगलबार नै पोखरा सेती नदी किनार रामघाटमा अन्त्यष्टि भयो । उनको पार्थीव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा सभामुख तारानाथ रानाभाट लगायत नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै काँग्रेसको झन्डा ओढाए । प्रतिनिधिसभा सदस्य तथा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य केसी पोखराका स्थापित उद्योगपति हुन् । उनी दुई पटकसम्म पोखरा नगरपञ्चायतको प्रधानपञ्च समेत बनेका थिए ।

पोखरालाई आधुनिक सहर बनाउन सूर्यबहादुर केसीको महत्वपूर्ण योगदान छ । अहिलेको सभागृह केसीकै कार्यकालमा पूरा भएको हो । पुरानो महेन्द्रपुलमा नयाँ पुल निर्माण उनले गरेका हुन् । केसी स्व. राजा वीरेन्द्रका विश्वासीला पात्र थिए । पोखरा भ्रमणमा आउँदा राजाले केसीलाई भेटेकै हुन्थे । भेटमा केसीले विकासेयोजना सुनाउँथे र राजाले हुकुम दिन्थे । केसीले गोरखा दक्षिणबाहु पदक पनि पाएका छन् । उनकै आग्रहमा राजा वीरेन्द्रले महेन्द्रपुल निर्माणका लागि सहयोग गरेका हुन् । यो पुलमा नेपालका अन्य नगरपञ्चायतले पनि सहयोग गरेका थिए । यही पुल बनाउन आँवुखैरेनीमा अञ्चलाधीशले कर उठाउन लगाएका थिए । राजाले उद्घाटन गर्ने भनिएको महेन्द्रपुल समेत राजाको सिफारिसमा उनले उद्घाटन गरेका थिए । कृषिमा आधुनिकता भित्र्याउनेदेखि जनसहभागितामा सडक स्तरोन्नतिको काम उनकै पालादेखि थालिएको हो ।

‘मान्छे ठूलो भएरमात्रै हुँदैन । असल हुनुपर्छ । केसीजी असल मान्छे हो,’ तत्कालीन नगर पञ्चायतका सदस्य विष्णुप्रसाद बास्तोलाले भने, ‘पोखराको विकासमा वहाँको योगदान कहिलै मेटिँदैन ।’ केसीले पोखरामा पहिलो पटक हरित सहर निर्माणको अभियान सुरु गरेका हुन् । पोखरा चक्रपथ परिकल्पना समेत उनकै पालामा नगरसभाबाट भएको थियो । पोखरा महानगरपालिका वडा १६ मा चिडियाखाना निर्माण गर्ने योजना पनि बनाएका थिए । यद्यपि दुवै योजना अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । उतिबेलै पोखरामा स्ट्रिट लाइट (सडक बत्ती) राख्ने निर्णय केसीले गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उनको मुख्य जोड थियो । केसी पञ्चायत पक्षधर भएपनि सबै राजनीतिक पार्टीका प्रिय थिए ।

इगोले बनाएको प्रधानपञ्च

राजनीति चासोको विषय होइन । गण्डकी बोर्डिङ स्कुलबाट विद्यालय तहको पढाइ सके । पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षा लिए । बाबु कीर्तिबहादुर केसी पोखराका स्थापित निर्माण व्यवसायी थिए । सूर्यबहादुर केसी पनि बाबुको सिको गर्दै त्यतैतिर लागे । घर बनाउने समय आयो । नगरपालिकामा घरको नक्सापास गर्न पुगे । तर बाटोको मापदण्ड देखाएर तत्कालीन प्रधानपञ्च उत्तम पुनले आनाकानी गरेपछि केसीको मनमा प्रतिस्पर्धी भावना जन्मियो । त्यही बेला उनले पुनलाई भनेका थिए, ‘कुनैदिन म तिम्रो कुर्चीमा हुनेछु । त्यो समयको प्रतीक्षा गर्नू ।’ २०३९ सालमा त्यति बोलेका केसीले वचन पूरा गरिछाडे ।

पुनलाई भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन नगर पञ्चायत नै खारेज भयो । र, २०४१ सालको उपनिर्वाचनमा केसी उनै पुनका प्रतिस्पर्धी बने । निर्वाचनमा केसीले जित्दा पुन पराजित भए । केसी २०४३ सालमा दोस्रो पटक प्रधानपञ्चमा निर्वाचित भएका थिए तर २०४६ सालमा बहुदल आएकोले पूरै कार्यकाल काम गर्न पाएनन् । ‘सायद राजनीतिमा वहाँ लाग्नुहुन्नथ्यो होला । एउटा घरको नक्सापास सजिलोसँग नपाएपछि वहाँले आफूलाई पूरै परिवर्तन गर्नुभयो,’ उनका कानूनी सल्लाहकार दुर्गाप्रसाद कोइरालाले भने । उनी नेपालमै सबैभन्दा कान्छा उमेरका प्रधानपञ्च हुन् । २७ वर्षकै उमेरमा पोखरा नगरको प्रधानपञ्च बनेका थिए, केसी ।

स्थानीय निकायको निर्वाचनपछि उनी २०५६ सालमा नगरपरिषद्को अध्यक्ष भएर काम गरे । केसी २०५१ सालको संसदीय निर्वाचनमा कास्की क्षेत्र २ बाट उम्मेदवार थिए । ११ हजार मत ल्याएका उनी तेस्रो बने । राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की अध्यक्ष हुँदै पोखरामा सम्पन्न महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भए । त्यसपछिको कार्यकाल पनि उनी कोषाध्यक्ष भए । राप्रपाबाटै २०६४ को पहिलो संविधानसभा चुनावमा सदस्य बनेका केसी २०७४ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा मनोनीत भएका थिए । त्यसबेला राप्रपा परित्याग गरी काँग्रेस प्रवेश गरेर आमन्त्रित केन्द्रीय सदस्य भएका हुन् । पोखरामा पहिलो पटक वडा कार्यालय बनाउने र मुखिया राख्ने काम उनैले सुरु गरेका हुन् ।

पञ्चायतकै कुर्चीबाट बहुदलको विगुल

बहुदल स्थापनाका लागि चौतर्फी आन्दोलन चलिरहेको थियो । तत्कालीन राप्रपा एकातिर थियो भने अरु पार्टी फरक मोर्चामा थिए । देशभरका अधिकांश स्थानीय निकायमा पञ्चहरु निर्वाचित भएका थिए । केसी पनि राप्रपाको संस्थापन पक्षबाट निर्वाचित भएका हुन् । यस्तो बेला पञ्चायतविरुद्ध बोल्नु निकै चुनौतिपूर्ण थियो । तर उनले कहिलै आफूलाई पञ्चको गुलाम बनाएनन् । सदा परिवर्तनको पक्षमा उभिए ।

‘पञ्चायतको निकायमा बसेर बहुदल अंगीकारको प्रस्ताव पठाउने पोखरा एकमात्र नगरपालिका हो । तत्कालीन राजनीतिक संकटबाट मुक्ति दिन वहाँ बहुदलकै पक्षमा हुनुहुन्थ्यो,’ तत्कालीन काँग्रेसबाट उपप्रधानपञ्च बनेका तीर्थ श्रेष्ठले भने, ‘बहुदलीय शासन दिए शीरोधार्य गर्न तयार रहेको भनेर नगर पञ्चायतबाट निर्णय ग¥यौं । नगरपालिकाबाट यस्तो निर्णय गर्दा समस्या हुने भएपछि केसीजीको निवासमा बसेर निर्णय गरेका थियौं ।’ श्रेष्ठकै प्रस्तावमा २०४६ चैतमा त्यो निर्णय भएको थियो । श्रेष्ठ त्यसलाई ऐतिहासिक र अभूतपूर्व निर्णय रुपमा लिन्छन् । उनको नजरमा केसी विकासप्रेमी र विनोदप्रिय व्यक्ति हुन् ।

खाद्यान्न अभाव टार्न किसानलाई सहुलियत दिएर फाँटमा खेती गर्ने अभियान चलाए । कुडहर फाँट, बिरुवा र ठूलीबेंसी फाँटमा दुई बाली खेती गर्न किसानलाई अह्राएर राम्रो उत्पादन गर्ने किसानलाई पुरस्कार दिने प्रणालीको थालनी गरे । सेती नहरलाई शाखा बनाएर तरकारी खेतीको विकास गरे । पोखरालाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान उनकै पालामा सुरु भएको थियो । उत्पादनले ३० प्रतिशतमात्रै माग धान्ने पोखरामा यो अभियानपछि ६० प्रतिशत उत्पादन बढ्यो । जनसहभागितामा सडक कालोपत्रे गर्ने कामको थालनी केसीले गराएका थिए । तत्कालीन समयमा बनेका योजना र निर्णयहरु कार्यान्वयन नहुँदा अहिले पोखरा अव्यवस्थित बन्दै गएको श्रेष्ठले सुनाए । ‘उहाँको आमछवि विकास चाहने व्यक्ति हो । सबैका लोकप्रिय हुनुहुन्थ्यो,’ श्रेष्ठले सम्झे, ‘वहाँसँग सहयोग माग्न गएको कोही पनि रित्तो हात फर्किएको छैन ।’

अनि केसी काँग्रेस भए……

२०५६ सालमा निर्वाचनको रौनक थियो । सबै राजनीतिक पार्टीले केसीलाई आफूतिर तान्ने भरमग्दुर प्रयास गरे । उनी डेग चलेनन् । त्यसो त केसी एमालेबाट चुनाव लड्ने होहल्ला व्यापक भैसकेको थियो । जानकारहरुका अनुसार उनी एमाले छिर्ने लगभग पक्का भैसकेको थियो । उनलाई पार्टी प्रवेश गराउन तत्कालीन महासचिव माधवकुमार नेपाल पोखरा आउने कार्यक्रम थियो । तर उनी कामविशेषले आउन भ्याएनन् ।

‘नेपालजी आउनुभएको भए केसी सर पहिले नै एमाले हुने मान्छे हो । सबै कुरा लगभग फाइनल भएको थियो,’ कोइरालाले भने, ‘कुरा कसरी बिग्रियो थाहा छैन । नेपालजी आउनुभएन । पार्टी प्रवेश कार्यक्रम स्थगित भयो ।’ केसी माओवादीसँग भने सधैँ दूरी राख्थे । परिवार स्रोतका अनुसार उनलाई तत्कालीन माओवादीले साह्रै नै दुःख दिएको थियो । यतिसम्म कि आफ्नै जेठा छोराको विहेको पार्टी हुँदा रामबजारमा उनी गएनन् ।

क्षेत्रबहादुर केसी, हर्कबहादुर गुरुङ लगायतलाई गोली हानिएको थियो । केसीलाई पनि पटक–पटक थ्रेट आइरहन्थ्यो । त्यसैले उनी माओवादीलाई खासै रुचाउँदैनथे । पछिल्लो पटक माओवादी र एमालेको एकीकरण नभएको भए उनी एमाले प्रवेश गर्ने तयारीमा थिए । दुई पार्टीको एकीकरणले उनलाई काँग्रेस बनायो ।

काठमाडौंलाई चुनौती

उद्योगजति काठमाडौंमा । बैंक उतै । मान्छेहरु सामान्य जागिर खान पनि उतै जानुपथ्र्यो । जसका कारण गाउँहरु खाली हुँदै थिए । पोखराजस्ता सहर पनि सहरजस्तो हुन सकेको थिएन । केसीले उद्योगमार्फत काठमाडौंलाई चुनौती दिए । राजनीतिभन्दा केसी व्यावसायिक व्यक्ति हुन्, उनी । उद्योग खोलेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उनको धारणा थियो । उनले चाउचाउ उद्योग खोल्दा दक्षिण एशियामा कतै पनि चाउचाउको उद्योग थिएन ।

विदेशबाट आउनेहरुले ल्याएको चाउचाउको स्वादमा मोहित भएका केसी आफैले चाउचाउ उद्योग खोल्ने योजना बनाए । यसको दुई वटा पाटा थिए–एउटा उद्योगमार्फत रोजगारी दिने र अर्को पोखरामै चाउचाउ उत्पादन गरेर भोकाहरुको भोक मेट्ने । २०२३ सालमा उनले गण्डकी नूडल्स कम्पनीमार्फत रारा चाउचाउ उत्पादन गर्न थाले । पचास लाखबाट सुरु उद्योग अहिले हिमश्री फूड्सको नाउँमा संचालित छ । हाल यहाँ अर्बभन्दा बढी लगानी छ । पोखरामै उनले राष्ट्रियस्तरको माछापुच्छ्रे बैंक खोले । उज्यालो नेपाल अभियानअन्तर्गत उनले दर्जनभन्दा बढी हाइड्रोपावर संचालनमा ल्याए । सन् २००५ मा ४.८ मेगावाटको गण्डकी हाइड्रोपावर बनाएर खोलामा खेल्न थालेका उनको दर्जन आयोजनामा लगानी छ । एक मेगावाटको टास्क हाइड्रो, १३ मेगावाटको सिक्लेस हाइड्रो, साढे ४ मेगावाटको भगवती हाइड्रो, २५ मेगावाटको अपर मादी, अपर सेती, विजयपुर–२, इदी मर्दी, करुवा, सुप्रिम, सिभिल लगायत आयोजनामा उनको लगानी छ ।

नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, पोखरा टूरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज लगायत कलेजहरु उनैले स्थापना गरे । कालिका बहुमुखी क्याम्पस र पोखरा बहुमुखी क्याम्पस केसी नगरपञ्चायतमा हुँदै स्थापना गरिएको हो । कालिकाका संस्थापक अध्यक्ष उनी पछिल्लो समयसम्मै अध्यक्ष थिए । पृथ्वीनारायण क्याम्पसले मात्रै विद्यार्थीको माग पूरा गर्न नसक्ने भन्दै उनले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा कदम राखेका थिए । उनको हाउजिङमा पनि अर्बौ रुपैयाँ लगानी रहेको बताइन्छ । यहाँको पर्यटन र होटलमा समेत केसीको लगानी छ ।

‘कोक–फेन्टाले सूगर’

केसी प्रधानपञ्च हुँदा पोखरामा भर्खरभर्खर कोक–फेन्टा आउन थालेको थियो । त्यतिबेला कोक–फेन्टा खाने मान्छे प्रतिष्ठित कहलिन्थ्यो । केसीका हरेक बैठकहरुमा कोक–फेन्टा हुन्थे । धेरै पिएपछि २०५० ताका उनलाई मधुमेह देखियो । ‘मेरो परिवारमा कसैलाई सूगर छैन । वहाँको परिवारमा पनि छैन,’ कानूनी सल्लाहकार कोइरालाले भने, ‘मलाई लाग्नुभन्दा २ वर्षअघि वहाँले सूगरको औषधी खान थाल्नुभयो । कोक धेरै खाएरै हामीलाई सूगर लागेको हो ।’ उनी धार्मिक र सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय व्यक्ति हुन् । जुन शान्तिघाटमा केसीको शव बिसर्जन भयो, उनी त्यहाँको संरक्षक समेत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width