उस्तै छ, डुंगाचालकको व्यथा

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७७
20201102_093532

पोखरा  । नेपालको पूर्वी जिल्ला सिन्धुलीको सलपाका सुन्दर विश्वकर्माले फेवातालमा डुंगा चलाउन थालेको ३२ वर्ष पुग्यो । तर अहिलेजस्तो बेचैन अवस्था कहिल्यै भोग्नुपरेन । कोरोना भाइरस संक्रमण जोखिमका कारण लकडाउन र निषेधाज्ञाले पूरै ६ महिना उनको डुंगा चल्न पाएन । पेसा व्यवसाय ठप्प बन्यो । सरकारले असोज १ देखि डुंगा चलाउन छुट त दियो, तर यतिका डेढ महिना बितिसक्दा पनि सोचेजस्तो काम पाएका छैनन् । दिनभर पालो कुर्दै दिन जान्छ । जेनतेन दुई तीन सय गोजीमा पर्दछ ।

सुन्दर विश्वकर्मा उमेरले ५१ वर्षका भए । २०४५ सालतिर कामको खोजीमा उनी यहाँ आएका हुन् । सलपाबाट आएका उनी फेवामा डुंगा चलाउने त्यस भेगका सबैभन्दा पुराना चालक हुन् । उनी यहाँ आएपछि धेरै मानिसहरु सलपाबाट फेवामा डुंगा चलाउन आए । सुन्दर भन्छन्, ‘म आएको ३२ वर्ष भो । यहाँ आउँदा सिन्धुलीको सलपाबाट कोही आएका थिएनन् । म पहिलो हो । पछि धेरै जना आए । तर यतिका समय बितिसक्दा अहिलेजस्तो अवस्था कहिल्यै भएन ।’

कात्तिक मध्यको एक बिहानी । ग्राहकको पर्खामा बसेका उनी आफ्नो डुंगा नम्बर ५८ भित्र भरिएको पानी फाल्दै थिए । आफ्नो परिवार नै डुंगामा आश्रित छ । उनका यहाँ कुल ५ वटा डुंगा चल्छन् । तर एउटै डुंगाको पालो कुरिरहनुपर्छ । फेवामा डुंगा चलाउन फेवा डुंगा व्यवसायी समितिले क्यू सिष्टम (आलोपालो प्रणाली) लागू गरेको छ । गत वर्षको चैत ११ देखि नै फेवातालमा डुंगा चल्न रोकिएका हुन् । सरकारले असोज १ देखि चलाउन पाउने स्वीकृति दिए पनि त्यसको भोलिपल्ट असोज २ देखिमात्र डुंगा चालकले सिक्रीले बाँधिएका डुंगा खोल्न थालेका हुन् । तर अपेक्षाकृत ग्राहक पाउन सकेका छैनन् । विदेशी त छँदै छैनन् । आन्तरिक पर्यटकहरु फाट्टफुट्ट आउँछन् । मन्दिर प्रवेशमा रोक लगाइएपछि ताल सयरका लागि मात्र केहीले भाडामा डुंगा लिने गरेका छन् । सुन्दरका अनुसार हाल दैनिक ४०/५० वटामात्र डुंगा बाराही घाटबाट छुट्छन् । आलोपालो प्रणालीअनुसार दिनहुँ पालो पाउन मुस्किल छ । अन्य घाट तुलनामा सबैभन्दा व्यस्त हुने बाराहीघाटबाट मात्रै कुल ३ सय ५६ डुंगा चल्छन् ।

चिजमान गुरुङ कास्कीको घान्द्रुकका हुन् । उनी फेवामा डुंगा चलाउने अर्का पाका चालक हुन् । यहाँ डुंगा चलाउन थालेको १७/१८ वर्ष पूरा भो । चिजमान पनि सुन्दरझैं पालो पर्खेर बसेका छन् । लामो समय लकडाउन र निषेधाज्ञाले उनको डुंगा चलाउने पेसा रोकिएको थियो । रोजीरोटीको लागि ६१ वर्षको उमेरमा पनि डुंगा चलाउन नछोडेका चिजमानले भने, ‘दिनहुँ आयो, पालो आउँदैन । एक सातामात्र बल्ल पालो आउँछ । गुजारा टार्नै धौधौ छ ।’ परिवारमा श्रीमती र २ छोरीहरु छन् । सबै जना चिजमानको डुंगामा आश्रित थिए । तर कोरोना भाइरस प्रभाव कारण उनीहरु सबैको रोटीरोटी गुम्यो । तैपनि डुंगा चलाउन पाइन्छ कि भनी कुर्दै बसे । असोज लागेपछि डुंगा चलाउन पाइने भएपछि केही खुसीको संचार त ल्यायो तर मानिस नै नआएपछि यसरी साता दिनसम्म पालो कुर्नुको विकल्प छैन । गएको ६ महिनासम्म डुंगा चलाउन नपाएपछि उनीहरु बेसहारा बने । वडा कार्यालय र डुंगा व्यवसायी संघले केही राहतमा चित्त बुझाए । चिजमानले त्यसबेला जीवन धान्न बेलाबखत कुल्ली काम गरेको सुनाए ।

एउटा डुंगा तालको बीचमा रहेको बाराही मन्दिर वरिपरि घुमाएर ल्याउँदा ४ सय रुपैयाँसम्म कमाइ हुन्छ । बाराही मन्दिर दर्शनका लागि भने अझै रोक लागेकोले त्यसको वरिपरिमात्र सामाजिक दूरी कायम गरी चलाउन पाइएको हो । नभए डुंगा भाडामा लिएर जाने पनि बेलाबखत आउँछन् । एक घण्टाको ६ सय रुपैयाँसम्म दररेट तोकिएको छ । समय बढी लिन चाहे, त्यसअनुरुप पैसा बढ्दै जान्छ ।

डुंगा व्यवसायी समितिका अनुसार बाराही घाटबाट हाल दैनिक औसत ४०/५० वटा डुंगाले मात्र पालो पाउने गरेका छन् । निषेधाज्ञा हटेसँगै सुरुका दिनमा १०/१२ वटामात्र डुंगा चल्ने गरेका थिए । अचेल केही बढे पनि सबैले काम पाएका छैनन् ।

फेवा डुंगा व्यवसायी समितिका कर्मचारी जीवन बिकेका अनुसार गाडी तथा जहाज चल्न थाले पनि कोरोना डरले पहिलेजस्तो मानिस आएका छैनन् । वर्षदिनमा सबैभन्दा व्यस्त हुने कोजाग्रत पूर्णिमाको दिन यसपालि फेवाताल डुंगा कम चले । सरकारले मन्दिर खोल्न रोकेपछि मानिस आउने कुरै भएन । एउटा डुंगामा बढीमा १० जनासम्म अट्ने भए पनि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले ४ जनाभन्दा बढी चढाइएको छैन । मानिसहरुको अलि बढी आवातजावत हुँदै गए छिटो–छिटो पालो आउने उनको भनाइ छ ।

सिजनको बेलामा फेवामा डुंगा सयरहरुले पालो कुरेरै बस्नु पथ्र्यो । तालभरि डुंगाको ताँती लाथ्यो । दिनैपिच्छे पनि हरेक डुंगाले पालो पाउने गरेका थिए । अहिले सिजन भएर पनि कोरोना प्रभावले समग्र पर्यटन व्यवसायसहित पेसा जर्जर भएको हो । फेवातालमा डुंगा चलाएरै ५ सय जना डुंगा चालकको रोजीरोटी चल्ने गरेकोमा कोरोनाकै कारण उनीहरुको गाँस गुम्दै जाने डर छ ।

फेवा डुंगा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादुर नेपाली भन्छन्, ‘निम्न आएका मानिसहरुले छाक टार्ने माध्यम डुंगा पेसा थियो । अहिले बेला नै यस्तो पर्‍यो। कोरोना कहिले हट्छ र सजिलो होला ।’ फेवातालमा डुंगा व्यवसाय व्यवस्थापनका लागि २०५१ सालमा नेपालीको अध्यक्षतामा फेवा डुंगा व्यवसायी समिति गठन भएको हो । फेवामा विभिन्न ८ वटा घाटमा हाल ८ सय वटा डुंगा चल्छन् । फेवातालमा बाराहीघाट सहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुंगा चल्छन् ।

कोरोना महामारी न्यूनीकरण हुनुको साटो दसैँपछि त झन्झन् बढ्दो छ । गण्डकीमा मात्र सोमबार १ सय २३ जना संक्रमित थपिएका छन् । आइतबारमात्रै २४ घण्टा अवधिमा अहिलेसम्मकै धेरै ४ सय २४ जना संक्रमित भेटिएका थिए । देशभर सोमबार २ हजार ९ सय ३३ संक्रमित थपिँदा २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…
  • गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सपना प्रधान…

hero news full width