पोखरा, १८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सुगर डाउन भएर ६३ बर्षको उमेरमा केसीको निधन भएको परिवार श्रोतले जनाएको छ ।
सोमबार राति घरमै केसीको निधन भएको हो । केही समयदेखि सुगरले थलिएपछि संसद बैठकमा समेत उपस्थित हुन सकेका थिएनन् ।
उनको मृगौला प्रत्यारोपण गरिएको थियो । केसी ३ बर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेर आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए भने कांग्रेसकै कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
केसी पोखरा उपमहानगरपालिकाको प्रधानपञ्च समेत बनेका थिए । लामो समय राप्रपाको राजनीति गरेका उनी पहिलो संविधानसभामा राप्रपाबाटै संविधानसभा सदस्य बनेका थिए ।
परिचित रारा चाउचाउ उनैले सुरु गरेका हुन् भने विभिन्न हाईड्रो, हाउजिङ लगायतको ब्यवसायमा सफल मानिन्छ ।