किसानलाई खेतबारीमै चटारो

सविन लामिछाने
कार्तिक १७, २०७७
FB_IMG_1601988578140

तनहुँ । कोरोनाले लखेटिएका किसानहरु यतिबेला खेतबारीमा ब्यस्त छन् । बर्खामा लगाएको बाली भित्र्याउन उनीहरुलाई भ्याई नभ्याई छ । केहिले धान काटिरहेका छन् भने केहि धान भित्र्याएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यसपाला बेलैमा रोपाईं भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान दशैँ अगावै भित्राइसकेका छन् । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी पाक्छ ।

यसपालि चाडबाड केहि पछि सरेकाले कामको मेलो पनि सँगै भएको किसानहरु बताउँछन् । धानमा टप ड्रेसिङ्ग गर्ने बेलामा यूरिया मल नपाएपछि धान फल्दैन की भन्ने चिन्ता किसानलाई थियो । अनुदानको मल नपाएपनि किसानले बजारबाट महंगो मुल्यमा मल किनेर धानमा छरे । यसपालिको उत्पादन उत्साहजनक रहेको किसानहरुले बताए ।

धान खेती गर्न किसानलाई महिना दिन लाग्थ्यो । भित्र्याउन उस्तै जुलुम हुन्थ्यो । अहिले भने किसानलाई धान भित्र्याउन प्रविधिले सजिलो बनाइदिएको छ । ‘पहिला गोरुले खेत जोत्नुपथ्र्यो । दुई महिना हिलोमै बित्थ्यो । तर, अहिले ट्रयाक्टरले जोत्दा एक हप्तामै खेती सकिन्छ,’ भानु ५ का किसान मनिलाल श्रेष्ठले भने, ‘धान भित्र्याउन पनि सजिलो भएको छ । थ्रेसरले खेतमै धान–पराल छुट्याउँछ । धान दाउन महिना दिन लाग्थ्यो । थ्रेसरले एक–आधा घण्टामा भ्याईदिन्छ ।’ कृषिमा यान्त्रीकरण भित्रिएपछि खेती प्रणालीमा पनि परिवर्तन भएको छ ।

गाउँ घरमा सहज रुपमा थ्रेसर पाइन्छ । घण्टाको दुई हजार रुपैयाँमा थ्रेसरले धान दाउने गर्छ । एक बिगाह खेतको धान दाउन एकदेखि डेढ घण्टासम्म लाग्छ । ‘गाउँमा ट्रयाक्टर हुनेले थ्रेसर मेसिन पनि किनेका छन् । अहिले धान दाउन भ्याई नभ्याई छ,’ ट्रयाक्टर चालक सुनिल चौधरीले भने, ‘दिनरात धान दाउने काम चलिरहेको छ । यो सिजन पनि हो ।’

तनहँु जिल्लामा धान खेती हुने क्षेत्र बढेको छ । यस वर्ष धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । गत बर्ष १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष कोभिडको कारणले धान खेती हुने क्षेत्र बढेको हो । १२ हजार ४ सय हेक्टर जग्गामा धान खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । अहिले ४८ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ ।

‘समयमा पानी पर्‍यो । रोग किराको कन्ट्रोल भयो । चाँडै रोपाई पनि भयो’ केन्द्र प्रमुख तिवारीले भने, ‘धान उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’ गण्डकी प्रदेशमै अहिले धान उत्पादन उत्साहजनक हुने अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width