पोषिलो खाद्यान्न कोदोखेती हराउँदै   

rss रासस
कार्तिक १३, २०७७
RBT-Baglung-KodoTipdaia

बागलुङको गलकोट नगरपालिका–७ मल्मकी महिला बारीमा कोदो काट्दै। तस्वीरः रामबहादुर थापा, रासस

गलेश्वर, १३ कात्तिक । हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ ।

कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । बनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले बताए।

करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए। “कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो !” ८३ वर्षीय शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकको भनाइ छ। बेनी नगरपालिका–३ तोराखेतका देववहादुर सापकोटाको घरमा पनि काम गर्ने मान्छे छैनन् । उनको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन् । छोरा विदेश गएका छन् भने बुहारीले घरमा नै पसल गरेकी छन् । वर्षौ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए। “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन। कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?”, उनले सम्झिए, “म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको मालिका गाउँपालिका ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताए। कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसंगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाको भनाइ छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्गमा कोदोको बाला काट्दै महिला। तस्वीरः कृष्ण दर्नाल, रासस

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतिकी सञ्चालिका विमला गौचनले बताइन्। त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको बताए।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरेले बताए। तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ।

म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads