“चाडबाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोनाले यस पटक घर जान पाइएन”

रासस
कार्तिक १०, २०७७
KN-Damauli-DashainPingKheldai

तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा पिङ खेल्दै एक बालिका । अघिल्लो वर्ष गाउँगाउँमा पिङ देखिएपनि यो वर्ष कोभिड १९ को प्रभावका कारण गाउँघरमा पिङ देख्न छाडिएको छ । तस्वीरः कृष्ण न्यौपाने, रासस

हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन ।

घटस्थापना शुरु भएपछि गाउँघरमा दशैँ पर्वको छुट्टै रौनक हुन्थ्यो । रोजगार, अध्ययनका साथै विभिन्न कामको शिलशिलामा देश तथा विदेशमा रहेका नेपाली आफ्ना घर फर्किँदा घरपरिवार तथा गाउँघर नै भरिभराउ हुने गर्दथ्यो । आफन्तमा एक प्रकारको खुसीयाली र उमङ्ग छाउँथ्यो ।

यसपटक भने महामारीको त्रासका कारण बाहिर रहेका नेपाली आफ्नो गाउँघर त्यति फर्किएका छैनन् । गाउँमै भएका नागरिक पनि एक अर्काबीच सँगै रहेर खुसीयाली साट्न नपाउँदा गाउँघर नै सुनसान जस्तै बनेको छ । विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमणले माहामारीको रुप लिँदै गएपछि त्यसको कहरमा हाल नेपाल पनि परेको छ । यसका कारण दशैँको उत्साह र रमाइलोले गाउँघरमा कमैलाई मात्र छोएको छ ।

पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन् । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुग्थिन्। तर यसपटकको दशैँमा भने उनी गाउँ गइनन्। कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैँ मनाउँदै छन्।

“चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन”, उनीले भनिन्, “बजारमा सङ्क्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर पोखरामै दशैँ मनाउने निर्णय गरेको हुँ।”

चियापसल र चौतारी सुनसान छन् । दशैँलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकूद प्रतियोगितालगायत यस वर्ष आयोजना भएनन् । पिङ तथा दशैँका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ्रे गाउँपालिका ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए।

“सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैँमा गाउँघरमा समेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारण समेत घरभित्रै सीमित छन्”, वडाध्यक्ष लम्सालले भने, “यस पटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ ।”

कोरोनाको जोखिम शहर बजारदेखि गाउँघरमा पनि बढ्दै गएका कारणले यसपटक आफ्नो पुख्र्याैली थलोमा टीका थाप्न नजाने निर्णय गरेको पाल्पा रामपुर नगरपालिका स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्ने शालिकराम कँडेल बताउछन्।

रामपुर नगरपालिका वडा नं ४ र ५ अन्र्तगत पर्ने मटेरी लस्करे सडक क्षेत्रमा दशैं पर्वलाई लक्षित गरी रंगरोगन गरिएका रुखहरु । तस्वीरः सुशीला रेग्मी, रासस

“अरु समय त कामको चापले गर्दा गाउँघर जान भ्याइदैनथ्यो । तर वर्षको एक पटक दशैँको बेला भने हरेक वर्ष घर पुग्ने गरिएको थियो । मान्यजनको हातबाट टीका थाप्न घर पुगिन्थ्यो । तर यसपटक कोरोनाको कारण जन्मथलोमा टीका थाप्न नजाने निर्णय गरेको छु । फोन, ईमेल, ईन्टरनेटबाटै मान्यजनसँग आशिर्वाद लिने बस्ने” उनले भने।

अघिल्ला वर्षमा दशैँमा आफन्त, साथीभाईबीच जम्मा भएर रमाइलोका लागि तास खेल्ने, पिङ खेल्ने, घुमफिर गरेर रमाइलो गर्नेको गाउँघरमा निकै उमङ्ग रहन्थ्यो । ग्रामीण भेगका पर्यटकीय क्षेत्रमा दशैँको बेला घुमफिर गर्ने आन्तरिक पर्यटकको भरिभराउँ रहन्थ्यो ।

चाडपर्वलाई लक्षित गरी नयाँ लक्ताकपडा किन्ने, धेरै खर्च गरेर विभिन्न सामान किनमेल गर्ने क्रम पनि यो वर्ष बजारमा खासै देखिएन । बिगतका वर्षमा बजारमा नयाँ कपडा किन्ने, गरगहना किन्ने, घरायसी सजावटका लागि नयाँ नयाँ सामान किनमेल गर्नेको निकै भिड हुन्थ्यो । कोरोनाको कारणले गर्दा बिगतका वर्षको तुलनामा यस वर्ष दशैँको बेलामा निकै कम व्यापार भएको रामपुर बेझाडका व्यापारी बैकुण्ठ अधिकारीले बताए।

पर्यटकीय स्थल सुनसान     

दशैँ पर्वका बेला आन्तरिक पर्यटकले खचाखच रहने देशका विभिन्न पर्यटकीयस्थल यसवर्ष सुनसान छन् । सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्र्ष दशैँमा गाउँ जानेहरु कम भएका हुन् । कोरोना सङ्क्रमणको त्रास सर्वत्र छ । गाडीमा हिँड्न समेत यात्रु डराएका छन् । कतिपय त शहरबाट जाँदा गाउँमा सङ्क्रमण फैलने डरले बजारमै बसेका छन्। ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलमा खासै चहलपहल देखिदैन ।

शक्तिपीठमा चहलपहल छैन    

नवदुर्गाका समय विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको निकै घुईंचो लाग्थ्यो । बली चढाउने, पूजाआज गर्नेको भीडले दर्शनार्थीलाई पुजा गर्न निकै सास्ती हुन्थ्यो । अहिले भने कोरोनाको कहरलाई मध्यनजर गर्दै विभिन्न शक्तिपीठमा पूजाआज गर्नेको चहलपहल भने देखिँदैन । दशैका बेला शक्तिपीठमा राँगा, बोका, परेवा, हाँस, कुखुरालगायतका विभिन्न पशुपंक्षी बली दिनेको ठूलो तामझाम रहन्थ्यो । गाउँमा अहिले बली दिने र भोज भतेर गरेको पनि देखिँदैन ।

नवरात्रीका अवसरमा विगतका वर्षहरुमा सयौँ भक्तजनहरुको भीडभाड रहने पोखराको प्रसिद्ध शक्तिपिठ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष कोरोना कहरका कारण दर्शनार्थीलाई प्रवेश रोक लगाइएपछि आइतबार सुनसान मन्दिर परिसर । तस्वीरः कृष्ण दवाडी, रासस

गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ मा अवस्थित मुसिकोत दरबार । विगतका बर्षहरुमा एक सय भन्दा बढी बली चढाइने यस मन्दिरमा यो बर्ष भने कोरोना महामारीका कारण सुनसान छ । अहिले गुल्मीका सबैजसो शक्तिपिठहरु सुनसान बनेका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस

लोप भयो परम्परागत चर्खे पिङ    

गाउँघरमा दशैँ तिहारजस्ता पर्वमा परम्परा देखि नै चलनचल्तीमा आएको चर्खे पिङ लोप हुँदै गएको छ । गाउँमा दशै पर्व शुरु हुनु एक महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुन्थ्यो । अहिले भने परम्परागत चर्खे पिङ बनाउने र खेल्नेको उत्साह नहुदा संस्कृति नै हराउँदै गएको हो ।

झण्डै दुई दशक अघि गाउँ गाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे पनि अहिले पिङको नाम मात्र लिनु परेको बुढापाका बताउँछन् । चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको रामपुरका मित्रलाल ढकाल बताउछन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दशैँ तिहारका लागि निर्माण गरिएको रोटेपिङ । बिगत वर्षहरुमा जिल्लाका दशवटै स्थानीय तहका विभिन्न ठाउँमा रोटेपिङ थापेर रमाइलो गर्ने गरिए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण दशैँ तथा तिहारको उल्लास छैन । तस्वीरः केदार मगर, रासस

उनले आफूले जानेबुझेदेखि नै गाउँका साथीभाई जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकोमा गुनासो गरे ।

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने र यस पिङ्को छुट्टै विशेषता रहेको रामबहादुर सोमैले बताए। कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए ।

गाउँघरमा चर्खे पिङ मात्र होइन लिङे पिङ पनि कमै मात्रामा देख्न पाइन्छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङे पिङ राख्ने गरेको पाइए पनि पहिले जस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यस पटक भने रौनक छैन ।

युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैँ पर्वले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा पनि स्थानीयको सहभागिता देखिँदैन ।

आजभोलिको युवापुस्ताको पनि पिङप्रति त्यति आकर्षण छैन । साना बच्चाका लागि बजारमा आएका प्लाष्टिकको डोरी बाँधेर घर घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । तर बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय बिस्तरै कम हुँदै गएको छ।

गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङ्गे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाई भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जादा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति पनि लोप हुँदै गएको देखिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width