यो दशैंमा किताबसँगै घुमौं

Suraj Hazare Dahal
कार्तिक ४, २०७७
books

परिस्थिति अनुकुल भएको भए धेरैको भ्रमण योजना बनिरहेको हुन्थ्यो । दशैं विदालाई धेरैले घुम्ने समयको रुपमा सदुपयोग गर्दै आएका छन् । शैक्षिक भ्रमणदेखि ब्यक्तिगत र पारिवारिक घुमघामका लागि पनि दशैं तिहारको मौसम निकै आकर्षक मानिन्छ । अहिलेको बर्ष कोरोना कहरले भ्रमण योजना बन्दैनन् । परिस्थिति घुम्नका लागि अनुकुल छैन । हुन त सरकारले सिनेमा हल र शिक्षण संस्था बाहेक अन्य क्षेत्रको लकडाउन हटाइ सकेको छ । मन लागे घुम्न जान रोकतोक छैन । यद्यपी कोराना संक्रमणको भयले छोटो दूरीमा बाहेक अधिकांशले घुम्ने योजना बनाएका छैनन् ।

यस्तो विकराल पस्थितिमा भौतिक रुपमा नघुमी अक्षर मार्फत देश दुनियाँको यात्रा गर्न भने सकिन्छ । प्रख्यात लेखिका झुम्पा लहिरिले भनेकी छिन् ‘पुस्तकले खुट्टा अगाडि नसारेर नै तपाईँलाई घुम्न दिन्छ ।’ बजारमा  विभिन्न प्रकाशनहरुले यात्रा संस्मरण, इतिहास, अनुवाददेखि विभिन्न उपन्यासहरु ल्याएका छन् । लकडाउनले आर्थिक क्षेत्रमा मन्दी आउँदा शुरुमा किताब नै कम प्रकाशन हुने हो कि भन्ने आशंका रहेकोमा अहिले दशैं लक्षित छ्यापछ्याप्ती किताब निस्किएका छन् । धेरै किताव छापिने क्रममा छन् ।

न्यूरोड तथा पालिखेचोक स्थित हिमालय रिडर कर्नरका संचालक विजय भण्डारीका अनुसार यसपाली दशैंको छेकोमा दर्जन बढी पुस्तक निस्किएका छन् । भन्छन्, ‘किताब धेरै प्रकाशन भए पनि लकडाउनको मन्दीले क्रय शक्ति घटेको छ । बिक्री त्यति छैन ।’ किताब धेरै आएकोले साथीहरुबीच किताब साटेर पढ्ने शैली बढेको उनी बताउँछन् । उनका अनुसार बढी बिक्री भइरहेका पुस्तकमा हालै मदन पुरस्कार प्राप्त ‘महारानी’, ‘सम्बन्धहरु’, ‘याम्बुनेर’, ‘डुमेरो’ लगायत हुन् । ‘याम्बुनेर’ र ‘डुमेरो’ माउथ पब्लिसिटीले बढी बिकेका पुस्तक हुन् ।
बजारमा नेपाली लेखकका पुस्तक मात्र होइन, अंग्रेजी र हिन्दीबाट नेपालीमा अनुवाद गरिएका पुस्तकहरु पनि आएका छन् । अरु त अरु, नेपाली लेखककै अंग्रेजी पुस्तकको नेपाली अनुवादका पुस्तकले पनि बजार पिटिरहेको छ । नेपाली लेखिका शिवा शाहको इतिहास बिधाको अंग्रेजी किताब ‘द अदर क्विन’लाई ‘कान्छा महारानी’ को नाममा सगुना शाहले अनुवाद गरेकी छिन् । उता मञ्जरी प्रकाशनले बहुचर्चित हिन्दी किताब ‘बैशालीकी नगरबधू’लाई सोही नामबाट नेपालीमा अनुवाद गरि प्रकाशन गरेको छ । आचार्य चतुरसेनको यो पुस्तकलाई रोशन दाहालले अनुवाद गरेका हुन् ।

यो किताबलाई हार्ड कपी बाहेक किनेर पिडिएफमा पनि पढ्न मिल्छ । यस्तै, लेखक खगेन्द्र संग्रौलाले अमेरिकी लेखक मेरी डेसनले छानेकी ८ चिन्तकहरुको करिब एक दर्जन निबन्धहरुलाई नेपालीमा अनुवाद गरेर ‘सत्ता र सत्य’ ल्याएका छन् । अमेरिकाका लेखक जोन स्टेनबेकको ‘अफ् माइस एण्ड ह्युमन’ लाई लेखक गनेस पौडेलले नेपालीमा ‘मुसा र मानुष’ नाम दिएर अनुवाद गरेका छन् । यि दुबैको प्रकाशन बुक हिल्स प्रकाशनले गरेको हो ।

आमपाठकहरुबीच ऐतिहासिक किताब तथा उपन्यासहरुमा रुची घटिरहेको बेला ‘महारानी’ले मदन पुरस्कार जितेपछि अर्को उपन्यास ‘कान्छा महारानी’ देखि जंगबहादुरको जीवनमा आधारित विभिन्न प्रकाशनका पुस्तकहरुले पाठकको इतिहास पठनको तिर्खा मेटिरहेको छ । नेपाली सबैभन्दा बढी पढिएका पात्रहरु मध्येका एक प्रधानमन्त्री जंगबहादुर बारे पुस्तक ‘नेपालको इतिहासमा जंगबहादुर’ लाई मञ्जरी प्रकाशनले ल्याएको छ, जसका लेखक त्रिरत्न मानन्धर हुन् ।

नेपालका विभिन्न प्रकाशनहरु मध्ये लकडाउन हल्का खुलेको बेला मञ्जरी प्रकाशनले धेरै पुस्तकहरु प्रकाशन गरेको थियो । जुन क्रम अझै पनि जारी छ । बुक हिल्स तथा फाइन प्रिन्टले पनि पछिल्लो चरणमा धेरै पुस्तक प्रकाशन गरेका छन् । ऐतिहासिक र अनुवाद गरिएका पुस्तक मात्र होइन आफ्नै भूगोल र परिवेश चिनाउने पुस्तक ‘नेपाल नखुलेका पाटा’लाई नयाँ कलेवरमा बुक हिल्सले ल्याएको छ । भित्रि पेज सबै रंगिन भएको यस पुस्तक मार्फत लेखक तीर्थबहादुर श्रेष्ठले मुलुकका विभिन्न भौगोलिक, सांस्कृतिक तथा ऐतिहासिक पाटोलाई तस्बिर सहित विश्लेषण गरेका छन् । यस अगाडि यो पुस्तकलाई हिमाल प्रकाशनले प्रकाशन गरेको थियो ।

यस्तै जीवजन्तुहरुको आनीबानीलाई चित्रण गरेर दधि सापकोटाले ‘वनको वैभव’ लेखेका छन् । पुस्तकमा उनले जनावर तथा पन्छीहरुको आनीबानी बारे अध्ययन अनुसन्धान गरेर लेखेका छन् । उनले निकुञ्ज तथा संरक्षण क्षेत्रहरुको भ्रमण गरि त्यसैको आधारमा पुस्तक लेखेका हुन् । यसको प्रकाशन फाइन प्रिन्टले गरेको हो ।

उता भारतीय लेखक चेतन भगतको नयाँ पुस्तक ‘वान एरेन्ज्ड म्यारिज मर्डर’ पनि दशैंको अवसरमा नेपाल भित्रिएको छ । चेतन भगतको नेपालमा धेरै फ्यान फलोओर भएको तथा उनले सरल अंग्रेजीमा उपन्यास लेख्ने हुँदा उनको किताब नेपालमा समेत बढी बिक्री हुन्छ ।
नयाँ पुस्तकहरु बिमोचनले मात्र होइन बिक्री गर्ने नयाँ शैली पनि यो वर्ष देखिएको छ । बिगतका वर्षहरुमा झै यो वर्ष तामझामका साथ सार्वजनिक रुपमा नेता, कलाकार तथा सेलिब्रेटीलाई बोलाएर पुस्तक बिमोचन गरिएन । कोरोना संक्रमणको भय तथा लकाडाउनले भर्चुअल रुपमै पुस्तकहरु बिमोचन गरेपछि सामाजिक संजाल मार्फत प्रचार गरिएका थिए । लकडाउनले बेलैमा सबै ठाउँमा पुस्तकहरु नपुग्ने हुँदा अनलाइनहरु मार्फत प्रकाशनहरुले आफ्ना पुस्तक बिक्री गरेर कुरियरबाट होम डेलिभरीको शैली पनि अपनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width