दरबाङ-धारापानी सडकस्तरोन्नति सुरु

साधन राम्जाली
कार्तिक ३, २०७७
darbang -dharapani (5)

म्याग्दी, ३ कात्तिक । म्याग्दीको दरबाङदेखि धारापानीसम्म सडकको स्तरोन्नति कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सीमाना दरबाङको पक्की पुलदेखि धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीसम्म सडकको स्तरोन्नति थालिएको हो । सडक स्तरोन्नतिको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले एक कार्यक्रमका बीच शिलन्यास गरेका छन् ।

सडकको स्तरोन्नति पछि यातायात सञ्चालन गर्न सहज हुने अध्यक्ष रोका मगरले बताए । सडकको स्तरोन्नति पछि दूरी पनि छोटिनेछ । साथै सडक स्तरोन्नतिले यातायात क्षेत्रसंगै व्यवसायीहरुलाई सहज हुनेमा अध्यक्ष रोका मगरले विश्वास व्यक्त गरे । ‘गाउँमा कम्तीमा १२ महिना यातायात सञ्चालन गर्ने लक्ष्यसहित सडक स्तरोन्नतिको कार्य थालिएको छ’, गाउँपालिका अध्यक्ष रोका मगरले भने ।

गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयबाट दरबाङ–धारापानीसम्मको ७ किलोमिटर सडक १४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । धुलिखेल ब्राइट कुँवर जेबी निर्माण कम्पनीले सडक स्तरोन्नतिको ठेक्का पाएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

सात किलोमिटर सडक ग्राभेल गरिनेछ । साथै ८ मिटर चौडा, ग्रेड मिलाउने, नाली बनाउने, विभिन्न ठाउँमा आरसीसी ढलान गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्यालले बताए । सम्झौता अनुसार उक्त सडक स्तरोन्नतिको काम आगामी दुई बर्षभित्रमा सम्पन्न हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width