प्रहरीले थाल्यो यात्रुसँग १ मिनेट

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७७

पोखरा ।
चाडपर्व केन्द्रित सुरक्षा योजना अन्तर्गत कास्की प्रहरीले यात्रुसँग १ मिनेट अभियान सुरु गरेको छ । बडादशैं, तिहार, छठ र इद पर्वको अवसरमा पृथ्वीचोकमा यात्रु सहायता कक्ष सुरु गरिएको हो ।

कक्षबाट कास्की भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रु सँग १ मिनेट कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले यात्रुको सहज यात्राका लागि सहायता कक्ष सुरु गरेको बताए ।

‘धेरैले बढी भाडा लिएको गुनासो गर्छन् । बढी यात्रु चढेका घटना पनि धेरै छन्,’ उनले भने, ‘सहायता कक्षमा यस्ता उजुरी लिने र आवश्यक्ता अनुसार सल्लाह सुझाव दिन्छौं ।’ स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सहायता कक्षले निगरानी बढाउने छ ।