घुम्न आउनुस्, गण्डकी सुरक्षित छः मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७७
gandaki_pradesh_O2PtGWhVMn

फाइल फाेटाे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कोभिड—१९ लाई अब घर बसेर मात्र जित्ने नसकिने बताए । सुरक्षा मापदण्ड अपनाएर घुम्न निस्किनका लागि उनले पर्यटकलाई निम्तो दिएका छन् । बिहिबार पोखरामा भएको ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा गुरुङले सुरक्षा सहित आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताएका हुन् ।

‘कोरोनाका संक्रमित देखिएपनि सुरक्षा सतर्कता राम्रो छ,’ उनले भने, ‘पदयात्रा पर्यटन र साहसिक खेल लगायत ग्रामिण पर्यटनको लागि डराउन पर्दैन ।’ कोभिड –१९ को असरले गण्डकी प्रदेशले २७ अर्बको नोक्सानी भोगिसकेको भन्दै अब पर्यटनबाट आर्थिक क्षेत्र चलायमान बनाउनुपर्ने बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भब्य गृहकार्य भएपनि कोभिडले सपना चकनाचुर बनाएको बताए । कोरोनाले पर्यटनमा मासिक १० अर्ब घाटा व्यहोरिरहेको उनको जिकीर छ । आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ खुला भएकोले बैकल्पिक पर्यटन खोजी गर्न उनको सुझाव छ ।

गण्डकी प्रदेशका पर्यटन उद्योग तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश संस्कृति, प्राकृतिक र साहसिक पर्यटनको लागि आर्कषक गन्तब्य भएकोले त्यसैलाई ब्राण्डिङ गर्नुपर्ने उल्लेख गरे । पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखराको पर्यटनको विकासमा कार्ययोजना सहित अघि बढेको जानकारी दिए । कार्यशालाले समुहगत छलफल गरी पर्यटनका सवल पक्ष सहित कोभिड १९ पछि पर्यटन केन्द्रीत कार्यक्रमको तय गर्ने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width