प्रदेशभरी औद्योगिक ग्रामः मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७७
bikash lamsal

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा सरकारले औद्योगिक ग्राम बनाउने बताएका छन् । सरकारले अघिल्लो आर्थिक बर्षकै नीति तथा कार्यक्रम र बजेटबाट औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको छ । बुधबार अन्नपूर्ण गाउँपालिका ३ लक्ष्मी देउरालीमा रहेको वनपाले सामुदायिक वन समूहका सदस्य तथा सरोकारवालासँगको अन्तरक्रियामा मन्त्री लम्सालले प्रदेशका सबै नागरिकलाई उद्यमी बन्न सुझाए । उनले नेपालको जंगलमा रहेका कु–काठको प्रयोग गर्दै उद्योग संचालनको अवधारणा अघि सार्नुपर्ने बताए । ‘काठ वनमा कुहिएर जान्छ । हामीले प्रयोग गर्न पाउँदैनौ,’ उनले भने, ‘हरियो वन नेपालको धन भनेको अर्काका लागि मात्रै होईन । हामीले हुर्काएका विरुवा हामीले पनि प्रयोग गर्न पाउनुपर्छ ।’ वनपाले सामुदायिक वनमा संचालन गरिएको लप्सी खेती उदाहरणीय भएको उनको भनाई छ ।

अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले वनलाई जीवनस्तरसँग जोड्नुपर्ने बताए । उनले उद्यमलाई पुस्तान्तरण गर्न सके मात्रै समृद्धी सम्भव हुनेमा जोड दिए । ‘नेपाली जंगलमा काठ छ । फर्निचरका लागि विदेशबाट काठ ल्याउनुपर्छ,’ उनले भने, ‘यो कसरी न्यायोचित भयो ? सरकारले कानुन सच्याएर नागरिकलाई प्रयोग गर्न पाउने वाटो खोलिदिनुपर्छ ।’ हिजो गरिएका खेती अहिले नगर्दा वन क्षेत्र बढेर बाँदरले दुख दिन थालेको उनको बुझाई छ ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीले एक वन एक उद्यममा जोड दिँदै वनपालेमा गरिँदै आएको लप्सी उद्योगको विस्तार गर्नुपर्ने बताए । अहिले वन ऐनमा धेरै त्रुटी भएकोले संशोधनका लागि मन्त्रीको ध्यानाकर्षण गराए । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सामुदायिक वन प्रत्यक्ष रुपमा जनताको आम्दानीसँग गाँसिनुपर्ने तर्क गरे ।

कार्यक्रममा जिल्ला वन अधिकृत केदार वराल, महासंघका जिल्ला अध्यक्ष विश्वनाथ लामिछाने, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, वन समूहको तर्फबाट कोषाध्यक्ष चुडामणि पौडेल लगायतले वन जनजीविकासँग जोड्न नसकिएकोप्रति गुनासो गरे । उनीहरुले वन्यजन्तुको संरक्षणका लागि वन क्षेत्रमा पोखरी निर्माण गर्नुपर्ने, उद्यमको पुस्ता हस्तान्तरण गर्नुपर्ने, उत्पादन बढाउनुपर्ने, एक्याप र सामुदायिक वन बीचको द्वन्द घटाउनुपर्नेमा जोड दिए । वन समूहका अध्यक्ष टीकाराम पौडेल(मदन) को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुशिला पौडेलले स्वागत तथा कार्यक्रमको संचालन सल्लाहकार चिरञ्जिवी पौडेलले गरेका थिए ।

यसैबीच, मन्त्री लम्सालको टोलीले बुधबार नै पोखरा–२५, हेमजा स्थित फुर्केटारी सामुदायिक वनद्वारा संचालित खानेपानी उद्योगको समेत निरीक्षण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width