कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर देशभर विशेष सुरक्षा योजना

रासस
असाेज २५, २०७७

काठमाडौँ, २५ असोज। प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन भित्रैमा औपचारिक रूपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए ।

“प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ”, उनले भने, “यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।”

केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए ।

चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ

यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ । प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ । सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ । मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमण रोक्ने योजनासमेत बन्नेछ ।

यस्तै, काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए । “छलफल गरेर एक/दुई दिनमै योजना लागू गर्ने तयारी छ, पोखरेलले भने, “चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ ।”

उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।

मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए । उनले यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…

hero news full width