गण्डकी, २३ असोज । हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ ।
कोरोनाको महामारीसँगै पर्यटन क्षेत्र शिथिल बनेका अवस्थामा यतिखेर मुस्ताङका पर्यटन व्यवसायी वैकल्पिकरुपमा स्याउको बजारीकरणका लागि सक्रिय बनेका छन् । कोरोनाको कहरबाट पाठ सिक्दै कतिपय पर्यटन व्यवसायी यतिखेर कृषि पर्यटनलाई अघि बढाइरहेका छन् । अत्यधिक चिसो समयका अलाबा अधिकांश समय मुस्ताङमा पर्यटकलाई स्वागत गरिरहेका होटेल ग्रान्ड साम्बाला, मुक्तिनाथका सञ्चालक सुरज गुरुङ यतिखेर कृषि पर्यटनमा सक्रिय छन् । सम्बाला एग्रो फार्म शुरु गरेका गुरुङलाई अहिले भने मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ छ । स्याउको नर्सरीसमेत थालेका गुरुङले मुस्ताङको मुक्तिक्षेत्रका कागबेनी, खिङ गाउँलगायतका स्थानबाट दैनिक स्याउ सङ्कलन गरी काठमाडौँ निर्यात गरिरहेको बताए ।
‘फार्ममा बोटमा स्याउ पाकिरहेका छन्, विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले पठाउन थालेको छु’, उनले भने, ‘बजारमा मुस्ताङी स्याउको माग अत्याधिक छ, पुर्याउनै धौ धौ छ ।’ बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमा नै थोक मूल्य लगभग प्रतिकिलो रु १२०/१२५ पर्ने गरेको उनले जानकारी दिए । दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । पोखराका बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्ने गरी पसलमा यहाँ मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गर्दछन् ।
उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती भएको ठिनीका स्याउ व्यवसायी पल डिसी थकालीले बताए । उनका अनुसार स्याउबाट सो क्षेत्रका धेरै स्थानीयवासीले राम्रो आयआर्जन गरेका छन् । जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएकोे हो । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको थियो । मुस्ताङका स्थानीयवासीका अनुसार सरकारले शुरुमा प्रत्येक घरमा तीन/तीन वटा स्याउका बेर्ना बाँडेको थियो । त्यसयता स्याउको खेतीमा उत्साहित बनेका यहाँका व्यवसायीले विसं २०३५÷३६ देखि स्याउबाट रक्सीसमेत बनाउन थालेका थिए । पछिल्ला समयमा मुस्ताङमा स्याउको रक्सी बनाउने उद्योग पनि बर्सेनि बढ्दै गएका छन् । मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउनका लागि बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । हिमाली दृश्यको अवलोकनका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ ।
सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाका मुस्ताङ प्रमुख सुधीर थापाले बताए । उनका अनुसार मुस्ताङमा स्याउखेती एक हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल ५०० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको बताउँदै उनले जलवायु परिवर्तनलगायतका कारणबाट जिल्लाको तल्लो भेगमा उत्पादनमा कमी आउन थालेको जानकारी दिए । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, ठिनीलगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । कृषिको तथ्याङ्कअनुसार अघिल्लो वर्ष मुस्ताङमा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१