पोखरा, २३ असाेज । कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि गत वर्षको चैत ११ देखि आह्वान गरिएको देशव्यापी बन्दाबन्दीका कारण कास्की जिल्लामा विकास निर्माणका काम प्रत्यक्ष प्रभावित भएका छन् । नेपालमा प्रायः आयोजनाका काम आर्थिक वर्षको अन्त्यमा आएर शुरु गर्ने परम्परा नै बसिसकेको र गत आर्थिक वर्षको अन्त्यतिरबाट शुरु भएको बन्दाबन्दी लामो समयसम्म कायमै रहेकाले विकास निर्माणका काममा बाधा उत्पन्न भएको छ । यद्यपि, कतिपय पालिकाले भने यस्ता आयोजनाका काम समयमै सम्पन्न पनि गरेका छन् ।
पोखरा महानगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा सङ्घ, प्रदेश तथा स्थानीय सरकारबाट बजेट विनियोजन भएर कार्यान्वयन भइरहेका अधिकांश ठूला आयोजनाको काम प्रभावित बनेको हो । कतिपय योजना भने कोरोना संक्रमणको कहरबीच पनि स्थानीय तहहरूले सम्पन्न गरेका छन् । स्थानीय तहबाट सञ्चालित साना खालका पूर्वाधार विकासका आयोजना सम्पन्न भए पनि अन्य ठूला योजनामा भने कोरोनाले नराम्रोसँग प्रभावित बनाएको देखिएको छ ।
विकास निर्माणको काम मुख्य समयमै रोकिँदा विकास आयोजना प्रभावित बनेको हो । नेपालमा फागुनदेखि जेठसम्मको समय पूर्वाधार विकासको मुख्य समयका रुपमा रहेको छ । अघिल्लो वर्ष चैतको दोस्रो सातादेखि बन्दाबन्दी आह्वान भएलगत्तै परियोजनास्थलमा कार्यरत मजदूर अलपत्र भएपछि सरकारले नै उनीहरुलाई वैकल्पिक व्यवस्था गरेर घर फिर्ता पठाएको थियो ।
घर फर्किएका मजदूर भदौ पहिलो सातासम्म पनि निर्माणस्थलमा नआउँदा ठूला आयोजनाको काम रोकिएकामा भदौ दोस्रो सातापछि भने आंशिकरुपमा काम अघि बढेका थिए । स्थानीय तहले उपभोक्ता समूहमार्फत गरेका धेरैजसो योजना भने स्थानीय मजदूरको प्रयोगबाट सम्पन्न गरिएका छन् ।
नेपालमा फागुनदेखि जेठसम्मको समय पूर्वाधार विकासको मुख्य समयका रुपमा रहेको छ
मादी गाउँपालिकामा कोरोना भाइरसका कारण सिर्जित आर्थिक तथा स्वास्थ्य सङ्कटबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावले पालिकालाई प्राप्त हुने सङ्घीय सरकार तथा प्रदेश सरकारको समानीकरण अनुदान, राजस्व बाँडफाँट तथा पालिकाको आन्तरिक आयमा समेत प्रभाव पारेको छ । पालिकाबाट सञ्चालित योजना तथा कार्यक्रममा कोरोनाले असर पु¥याएको छ ।
मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गाउँपालिकाबाट सञ्चालित विकासका योजना भने झण्डै शतप्रतिशत सम्पन्न भएपछि सङ्घ तथा प्रदेश सरकारले ठूला र बहुवर्षीय योजनाको काम भने बन्दाबन्दीले प्रभावित बनाएको बताए ।
गाउँपालिकाले गत वर्षको कार्यक्रममा समेटेका तालिम, क्षमता विकास तथा लक्षित वर्गका कार्यक्रम भने आधाभन्दा बढी कार्यान्वयमा आउन सकेनन् । पालिका केन्द्र र वडा केन्द्रलाई जोड्ने रणनीतिक महत्वका सडकको स्तरोन्नतिसमेत प्रभावित बनेको थियो ।
मादीको गौरवको आयोजनाका रुपमा रहेका विजयपुरखोलादेखि पर्यटकीय गन्तव्य सिक्लेससम्मको कालोपत्र सडक, कसेरी भैँसे हुँदै याङ्जाकोट सडक स्तरोन्नति, मादी करिडोर तथा खुला वन्यजन्तु उद्यान निर्माणलगायतका योजना प्रत्यक्षरुपमा बन्दाबन्दीबाट प्रभावित बनेको गाउँपालिकाले जनाएको छ ।
“गाउँपालिकाका विकासका योजना उपभोक्ता समितिमार्फत शतप्रतिशत कार्यान्वयन भए पनि अन्य लक्षित वर्गअन्तर्गतका कार्यक्रम, विभिन्न शीर्षकमा उल्लेख कार्यक्रहरु भने बन्दाबन्दीका कारण प्रत्यक्ष प्रभावित बने,” सापकोटाले भने, “जनशक्ति अभावमा यहाँ ठूला आयोजनामा बन्दाबन्दीको अवधिमा काम रोकिएको थियो ।” गाउँपालिकाले गत वर्ष कोरोनाका कारण सम्पन्न शुरु हुन नसकेका र सम्पन्न नभएका योजनालाई चालू आवमा समावेश गरेको जनाएको छ ।
माछापुच्छे गाउँपालिकामा सञ्चालित योजनामा समेत प्रभाव परेको छ । गाउँपालिकामा अधिकांश योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भए पनि ठूला योजनामा कोरोनाले असर पारेको छ । गत आवमै सम्पन्न हुनुपर्ने गाउँपालिकाको ‘लाइफलाइनका’ रुपमा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत निर्माणाधीन पोखरा–२५ मेलबोटदेखि माछापुच्छेकाे वडा ९ घलेलसम्मको सडक निर्माण आयोजना बन्दाबन्दीका कारण प्रभावित बनेको छ ।
सो सडक आयोजनामा काम भइरहेकामा बन्दाबन्दी घोषणासँगै काम प्रभावित बनेको थियो । भदौ लागेसँगै सो सडकको ढलान निर्माण शुरु भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी प्रदेश सरकारको प्रदेश राजधानी शहरबाट गाउँपालिका केन्द्र जोड्ने मिलनचोक, मर्दीपुल, बानेटाकुरा हुँदै गाउँपालिका केन्द्र जोड्ने रु १० करोड लागतमा निर्माणाधीन सडकसमेत बन्दाबन्दीले प्रभावित बनेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् ।
वडा २ र ३ जोड्ने गरी सेती नदीमाथि रातोपानीमा निर्माण हुने मोटर गुड्ने पक्की पुल, प्रदेश सरकारबाट विनियोजित बजेटबाट धिताल र भेँडाबारी जोड्ने पक्की पुललगायत अन्य सङ्घ र प्रदेश सरकारबाट बजेट विनियोजन गरिएका योजनासमेत बन्दाबन्दीले प्रभावित बनेको छ ।
कोरोना महामारीका कारणले गत वर्ष पालिकाले ७१ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिँदै उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतका ११ योजनामध्ये १० वटा सम्पन्न भएको बताइन् ।
यस्तै, अन्नपूर्ण गाउँपालिकाले अघिल्लो आर्थिक वर्षका लक्षित योजना अधिकांश सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष ७.२०० किमी ढलान बाटो निर्माण गरेको छ । गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा ११ किलोमिटर सिँढीबाटो सम्पन्न गरिएको छ ।
कोरोना भाइरसले जनजीवनमा पारेको प्रभावलाई समेत दृष्टिगत गर्दै रोजगारमा आधारित कार्यक्रम अन्तर्गत उक्त कार्य सम्पन्न भएको अधिकारीले जानकारी दिए ।
अघिल्लो आवमा गाउँपालिकाले १७ वटा चौतारो, १३ वटा पोखरी निर्माणका साथै तीन किलोमिटर बाटो ग्राभेल गरी नाली निर्माण सम्पन्न गरेको थियो । अघिल्लो आर्थिक वर्षमा सोलिङ भएको सात किलोमिटर बाटो यस वर्ष ढलान गरिने अधिकारीले जानकारी दिए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ८४४ घरधुरीमा एक घर एक धारा योजना सम्पन्न गरिसकेको छ ।
चालू आर्थिक वर्षका कार्यक्रम पनि अघि बढिरहेको बताउँदै उनले गाउँपालिकाको ठूलो योजनाका रुपमा रहेको काँडे–भदौरे–सल्यान सडकको टेन्डर आह्वान भइसकेको जानकारी दिए । उक्त योजना साढे चार कारोडको लागतमा निर्माण गर्न लागिएको हो । कोरोना संक्रमणका बाबजुद चालू आर्थिक वर्षमा गाउँपालिकाले गाउँपालिकाका केन्द्र र वडा केन्द्रलाई जोड्ने रणनीतिक महत्वका सडकको स्तरोन्नति गर्ने, स्थानीय सडक निर्माण तथा सडक पूल तथा झोलुङ्गे पुल निर्माण गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
रुपा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा कोरोना संक्रमणको कहरबीच पनि करिब ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/०७६ मा ९२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको भए पनि गत आवमा कोरोना संक्रमणले अपेक्षित वित्तीय प्रगति हुन नसकेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । गाउँपालिकामा रहेका ठूला योजनालाई कोरोनाले प्रत्यक्ष प्रभाव पारेको उनले जानकारी दिए ।
गाउँपालिकाको ठूलो योजनाका रुपमा रहेको वहुवर्षीय योजनाअन्तर्गतको रामकोट–रामदी सडकमा कोरोनाले प्रत्यक्ष प्रभाव पारेको अध्यक्ष ओझाले बताए । साढे आठ करोड लागतको उक्त योजना अघिल्लो आर्थिक वर्षमा ३३ प्रतिशत काम सम्पन्न गर्ने भनिएकामा २७ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए ।
कोरोनाका कारण गाउँपालिकाभित्रका बेगनास–भोर्लेटार सडक, मादी करिडोर, शिशुवा–पोल्याङटार सडक, चक्रपथ निर्माण जस्ता योजना कार्यक्रमलाई प्रभावित बनाएको छ । चालू आर्थिक वर्षमा लक्षित योजना समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ कामहरू तीव्रताका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस आर्थिक वर्षको प्रारम्भमा नै देउराली ज्येष्ठ नागरिक मनोरञ्जन घर, सिँढी बाटो, दुईवटा खानेपानी आयोजना जस्ता योजना तथा कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष ओझाले जानकारी दिए ।
त्यस्तै पोखरा महानगरपालिकामा पनि कोरोना भाइरसको महामारीले विकास निर्माणका कार्यक्रम प्रत्यक्ष प्रभावित पारेको छ । अघिल्लो आर्थिक वर्षको चैतदेखि असार मसान्तसम्म भएको बन्दाबन्दीले लक्षित कार्यक्रमलाई प्रत्यक्ष असर पारेको महानगरपालिकाका बरिष्ठ इन्जिनियर एवं योजना महाशाखा (प्राविधिक) प्रमुख शारदामोहन काफ्लेले जानकारी दिए । महानगरपालिका भित्रमा अघिल्लो वर्ष सम्पन्न हुनुपर्ने वडा एवं नगरस्तरीय १ सय २ वटा कार्यक्रम कोरोनाका कारण प्रभावित भएपछि म्याद थप गरेर अघि बढाइएको उनले बताए ।
महानगरबाट सञ्चालित साना योजनालाई धेरै प्रभाव नपारे पनि ठूला योजनालाई प्रत्यक्ष प्रभावित बनाएको उनले बताए । कास्की जिल्लाभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको काममा कोरोना भाइरसको संक्रमणले समस्या पारे पनि निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१