देशभर एकै दिन ४३६४ जनामा संक्रमण

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७७
corona update

पोखरा, २२ असाेज । नेपालमा एकै दिन ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । एकै दिनमा संक्रमित थपिएको यो सबैभन्दा उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १८ हजार ४ सय ७३ पीसीआर परीक्षणमा ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । बुधबारमात्र ३ हजार ४ सय ३९ संक्रमित थपिएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । यस्तै, गएको २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६ सय ७५ रहेको छ । यो सहित निको हुनेको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये ४ महिला र ८ पुरुष छन् । मृत्यु हुनेमा सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँकी ७९ वर्षीया महिला, काठमाडौँका ५८ वर्षीय पुरुष, काठमाडौंकै ९१ वर्षीय पुरुष, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१ वर्षका २ जना पुरुष र चितवनका ९२ वर्षीय पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बिहीबार ५ सय ९० पुगेको छ ।

 सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ

बिहीबार काठमाडौँ उपत्यकामा २ हजार ५ सय ४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन । उपत्यकामा अहिलेसम्म ३६ हजार ३ सय ११ जना सङ्क्रमित फेला परेका छन् ।

प्रवक्ता डा गौतमले कोभिड–१९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए । आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनले बताए । उनले सामान्य लक्षण र लक्षणविहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरेका छन् ।

सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्न काठमाडौँमा उपत्यकामा १ सय ८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । तीमध्ये ८२ आइसियु र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको छ।

दिनप्रतिदिन संक्रमित संख्या बढिरहँदा स्वास्थ्य मन्त्रालय स्रोतले लकडाउनकै स्वरूपमा नभएर फरक ढंगले एक्सन लिने गरी सरकार अघि बढिरहेको जनाएको छ । एक उच्च अधिकारी भन्छन्, ‘संक्रमितको संख्या बढिरहेको छ, अस्पतालमा बेडको अभाव देखिएको छ । यत्तिकै बस्न त मिल्दैन । केही न केही गर्नै पर्छ ।’ उनका अनुसार निश्चित ठाउँहरू ब्लक गर्ने गरी काम अघि बढिरहेको छ ।

गत असोज ७ मा नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन हुने बताएका थिए । यद्यपि बुधबारदेखि नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघे पनि तत्काल लकडाउन नहुने मन्त्रालयले स्पष्ट पारिसकेको छ । सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन आग्रह गर्दै दसैंको बेलामा सार्वजनिक स्थलमा विगतमा झैं यसपालि पिङ नहाल्न र भिडभाड नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width