धूमपान निषेधित गाउँ, चुरोट पिए ५० हजार जरिवाना

प्रकाश ढकाल
असाेज २१, २०७७
fu

मनाङको उत्तरी गाउँ फू । तस्वीर: प्रकाश ढकाल

फू (मनाङ) । चुरोट पिउँदा जरिवाना ? सुन्दा अनौठो लागे पनि मनाङको उत्तरी गाउँ फू मा यस्तै नियम छ । यो गाउँका कसैले पनि चुरोट पिउँदैनन् । गाउँ पुगेका बाहिरका कसैले पिए आपत्ति छैन, तर सार्वजनिक ठाउँ र घरभित्र त्यसो गर्न पाइँदैन । हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरु स्वास्थ्यको धेरै ख्याल गर्छन् । उनीहरु त्यसलाई धर्मसँग जोडेर हेर्छन्, जुन कुरा वैज्ञानिक र स्वास्थ्यसँग प्रत्यक्ष जोडिन्छ ।

फू गाउँका नागरिक नेपाल वा विदेशका जुनसुकै ठाउँमा पुगे पनि चुरोट पिउँदैनन् । चुरोट पिए देउता रिसाउने उनीहरुको विश्वास छ । स्थानीय जनप्रतिनिधि टासी रिन्चेनले गाउँका कसैले पनि हालसम्म चुरोट सेवन नगरेका बताए । चुरोट पिएर कसैलाई कारबाही गर्ने अवस्था नआएको उनको भनाइ छ ।

‘यो कुरा बाजेकै पालादेखि चलेको रहेछ । ६ वर्षदेखि धूमपान निषेधित क्षेत्र घोषणा गरेका छौं,’ उनले भने, ‘त्योभन्दा पहलेदेखि नै खाएको छैन । चुरोटखैनी खाने मान्छे गाउँकै सबैभन्दा कनिष्ट र सानो मान्छौं ।’ सन् २०१४ देखि फू गाउँलाई धूमपान निषेधित क्षेत्र घोषणा गरिएको हो । गाउँका कसैले चुरोटखैनी खायो भने ५० हजार जरिवाना तोकिएको छ । यद्यपि हालसम्म यो जरिवाना तिर्ने गरी कसैले धूमपान नगरेको टासीले बताए ।

विदेशै गएपनि शास्त्रले पाप गरेको मान्छ र चुरोट खानबाट हच्किन्छन्

‘गाउँभित्रको मात्रै कुरा होइन । आफ्नै लाइफको कुरा हो । एकजनाले गर्दा धेरैलाई भाइरसजस्तो फैलिन्छ । विदेशै गएपनि शास्त्रले पाप गरेको मान्छ र चुरोट खानबाट हच्किन्छन्,’ उनले अघि थपे, ‘कसैले खान खोजे भने सम्झाउँछौं । हामी बुद्धिष्ट हो । घरभित्र पाहुनाले पनि खान पाउँदैनन् । पसल र होटलहरुमा चुरोट बेच्न दिएको छैन ।’ स्थानीयले चुरोट बेच्नै नपाउने अगुवाहरु बताउँछन् ।

चुरोट पिएर जरिवाना उठाउनुपरे त्यो रकम धार्मिक संस्थाहरुमा जम्मा हुन्छ । सामाजिक कामका लागि खर्च गर्ने नियम छ । ‘समाजमा बसेपछि सामाजिक नियम मान्नुपर्छ । जिजुबाजेले जोगाइराखेको यस्तो परम्परा तोड्न मिल्दैन । एउटाका कारण समाज बिग्रिन्छ । कसैले चुरोट ल्यायो भने नाम नै चुरोट भाइ भनेर जुगजुग नाम रहन्छ,’ वडाध्यक्ष सोनाम तेजे लामाले भने, ‘दुर्गम जिल्ला भए पनि हाम्रो धर्मले सुहाउँदैन । नयाँ मान्छेलाई सार्वजनिक ठाउँमा अरुले देख्ने गरी नखानुस् भन्छौं । खैनी चुरोटको फोहोर जथाभावी फाल्यो भने उनीहरुले नै टिप्नुपर्छ ।’

यहाँ गाउँमा मासुको पसल अहिलेसम्म खुलेको छैन । काटमारलाई पापको रुपमा लिन्छन् । त्यसो त अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भएकोले जंगली जनावर काटमार गर्न पाइँदैन । ‘घरमा भएका पशु बस्तु काट्न परे समूहमा मिलेर एउटै मात्र काट्छौं,’ लामा भन्छन्, ‘जहिलेसुकै काट्न पाइँदैन ।’ उत्तरी गोरखाको चुमनुब्री क्षेत्रमा वर्षौंदेखि पशुवली दिन नपाइने नियम छ । पशु बलि दिँदा कुनै जरिवाना त छैन । तर धार्मिक रुपमा पाप लाग्ने विश्वास छ । त्यही विश्वासले वर्षौंदेखि गाउँलेहरु मासु खादैनन् ।

अन्य जिल्लाका उत्तरी क्षेत्रमा समेत यस्ताखाले धार्मिक र सामाजिक नियमहरु कायम छन् । हिमाली क्षेत्रमा माटोका घर र माटोकै छाना हुन्छन् । छानामाथि दाउरा राख्ने चलन धेरै पुरानो हो । घरहरुमा सेतो र रातो रंग लगाउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width