११ स्कुल ९ शिक्षक ! दरबन्दी मिलानमा शिक्षकको विरोध

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७७
IMG_7410

नार्पाभूमी गाउँपालिकास्थित फू गाउँमा विद्यालय भवन निर्माण गर्दै मजदुरहरु । तस्वीर: प्रकाश ढकाल

प्रकाश ढकाल
मनाङ, २० असाेज । मनाङको नाशों गाउँपालिकामा ११ वटा तत्कालीन प्रावि तहका (हाल आधारभूत) विद्यालय छन् । शिक्षा मन्त्रालयले गरेको शिक्षक समायोजन अनुसार यो गाउँपालिकामा प्रावि तहका ९ जना मात्रै शिक्षक रहने भएका छन् ।

‘११ वटा स्कुलमा ९ जना शिक्षकले कसरी पढाउने ?’ गाउँपालिका अध्यक्ष चन्द्र घले भन्छन्, ‘समायोजनको आधार मिलेन । कम्तीमा एउटा स्कुलमा ३ जना शिक्षक चाहिन्छ ।’ यहाँको दुईवटा माविमा ७ जना मात्रै शिक्षक छन् । यसअघि ५९ जना प्राविका शिक्षक रहेकोमा विद्यार्थी संख्या कम भएको देखाएर मन्त्रालयले ५० शिक्षकलाई फाजिल बनाइदियो । यो निर्णयले जागिर खानका लागि उनीहरु मनाङ बाहिर जानुपर्छ । तत्कालीन निमाविका १७ शिक्षक भने कायम छन् । माविमा पनि १० बाट घटाएर ७ शिक्षक कायम गरिएको छ । मन्त्रालयले कम विद्यार्थी भएको विद्यालय गाभ्न र सम्भव नभए आवासीय विद्यालय चलाउन स्थानीय तहलाई अधिकार दिएको छ । नाशों गाउँपालिकाले आवासीय विद्यालय सञ्चालन गर्ने निर्णय त गरेको छ तर त्यसका संरचना तयार भैसकेका छैनन् ।

यसले विद्यार्थीहरु घण्टौं हिडेर अर्को स्कुल जानुपर्ने अवस्था आएको छ । ‘तिल्चेका विद्यार्थी डेढ घण्टा लगाएर थोंचे पुग्नुपर्छ । भर्खर स्कुल जाने बच्चाहरु यत्रो बाटो कसरी हिड्न सक्छन् ?,’ शिक्षक गुणराज गुरुङ भन्छन्, ‘आवासीय स्कुल चलाउने भनिएपनि कुनै पूर्वाधार छैन । शिक्षक समायोजनमा मन्त्रालयले ब्यवहारिक निर्णय गरेन ।’

चामे गाउँपालिकामा ५ वटा स्कुल छन् । प्रावि तहमा अव सरकारले ८ जना शिक्षक मात्रै दिने भएको छ । हालका बाँकी १९ जना शिक्षकलाई जिल्ला बाहिर पठाउने तयारी छ । मनाङ ङिस्याङ गाउँपालिकाका ९ वटा स्कुलमा यसअघिसम्म ६० शिक्षक थिए । नयाँ व्यवस्था अनुसार २१ शिक्षकको जागिर जिल्ला बाहिर पुगेको छ । नार्पाभूमी गाउँपालिकामा भने १ जनाको मात्रै दरबन्दी काटिएको छ । प्राविमा रहेका ७ मध्ये १ जनाको जागिर गाउँपालिकाभित्र नरहने निर्णय गरिएको हो । १ सय ९६ जना शिक्षक दरबन्दीमध्ये ९८ जना मात्रै कायम रहने भएको छ । ९८ जनालाई विद्यार्थी नभएको भन्दै अन्यत्र जिल्लामा खटाउने गरी समायोजन लगभग टुंगिएको जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख नारायण रेग्मीले बताए । ‘२०७५ सालमा भएका विद्यार्थीको संख्याका आधारमा दरबन्दी मिलान गरिएको हो । कतै अलि अब्यवहारिक जस्तो देखिएको छ,’ उनले भने, ‘समायोजनमा विद्यालय र भौगोलिक अवस्थाको मूल्याङ्कन गरिनुपर्छ ।’ समायोजनमा भएको अव्यवहारिक पक्षलाई सम्बन्धित निकायमा जानकारी गराइसकेको उनले सुनाए ।

नार्पाभूमी गाउँपालिकाभरि जम्मा ८ जना विद्यार्थी छन् 

नार्पाभूमी गाउँपालिका भरी ८ जना विद्यार्थी छन् । ती पनि कहिलेकाहीँ मात्रै विद्यालय जान्छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार ईसीडीभन्दा माथिल्लो कक्षाको पढाइ यो गाउँपालिकाको दुईवटै विद्यालयमा हुँदैन । ‘एक कक्षाभन्दा माथि पढ्ने विद्यार्थी गाउँपालिकाभरि छैनन् । सबैले पोखरा र काठमाडौंमा बच्चा पढाउँछन्,’ रेग्मी भन्छन्, ‘स्कुल जीवित राख्न अव अभिभावकहरु नै सचेत हुनुपर्छ । अब सरकारले मात्रै धान्न सक्दैन ।’ शिक्षकहरु चाहिँ अहिलेको दरबन्दी मिलान अवैज्ञानिक र अव्यवहारिक भएको गुनासो गर्छन् । शिक्षक संगठनका अध्यक्ष कमलजङ्ग गुरुङले शिक्षकहरुको सल्लाह र सुझाव अनुसार दरबन्दी मिलान नभएको बताए । ‘एउटा गाउँ र अर्को गाउँ टाढा छ । विद्यार्थीलाई जान समस्या पर्छ । ९६ जना शिक्षक काटिँदा विद्यालय नै नरहने अवस्था आउन सक्छ,’ उनले भने, ‘निरन्तर विरोध गरिरहेका छौं । ज्ञापनपत्र बुझाउन गयौं । सुनुवाइ भएको छैन । संघर्ष जारी छ ।’ उनले मनाङको भूगोल फरक भएकोले सोही अनुसार निर्णय गर्नुपर्ने बताए । ‘तल्लो क्षेत्रको दरबन्दी हिमाली क्षेत्रमा अमिल्दो छ । कम्तीमा विद्यालय सञ्चालनका लागि आवश्यक शिक्षक दिनुपर्छ नि !,’ उनी भन्छन्, ‘निमाविसम्म सम्भव नहोला । तर माविमा विषयगत शिक्षक अनिवार्य छ । नत्र स्कुल कसरी चलाउने ? न्यूनतम दरबन्दी पाउनुपर्छ ।’ गुरुङले नयाँ दरबन्दी मिलानका कारण विद्यालय नै धरापमा पर्ने संकेत गरे ।

शिक्षक संघका उपाध्यक्ष चेकमान गुरुङ दरबन्दी मिलानको निर्णयले विद्यार्थीको पढ्न पाउने अधिकारमाथि हस्तक्षेप गरिएको बताउँछन् । ‘दरबन्दी मिलानको नाममा विद्यार्थीको पढ्न पाउने मौलिक हकको हनन् भएको छ । यो निर्णयले मनाङको शैक्षिक इतिहासमा ठूलो क्षति व्यहोर्नुपरेको छ,’ उनीहरुले भने, ‘सरकारी विद्यालयलाई मजबुत बनाई विद्यार्थी आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्नेमा भएको स्कुल नै बन्द हुने गरी शिक्षक दरबन्दी गरिनु दुखद छ ।’ दरबन्दी मिलानको निर्णयप्रति मनाङका शिक्षक संघ संगठनहरुले आपत्ति जनाएका छन् । ‘सरकारको निर्णयप्रति हाम्रो घोर आपत्ति छ ।

पेसागत संघ संगठनहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनिएन,’ शिक्षक संघका उपाध्यक्ष चेकमान गुरुङ भन्छन्, ‘राज्यतर्फबाट सुनुवाइ नभए कडा आन्दोलनमा जान्छौं । बेलैमा सरकारको ध्यान पुगोस् ।’ हाल जिल्लाभरि ६ सय ९२ जना विद्यार्थी अध्ययनरत रहेको इकाइले जनाएको छ । जिल्लामा २८ वटा विद्यालय र ९८ जना शिक्षक कायम छन् । शिक्षक दरबन्दी मिलान अस्वभाविक भएको भन्दै शिक्षकहरुले सिंहबहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति नै गठन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै