‘कार्यान्वयन गर्न सकिने योजना बनाऔं’

भोजराज भट्टराई
असाेज १६, २०७७
News Baganaskali

पाल्पा । स्थानीय तहको सम्भावना पहिचानसहित स्थानीय स्रोत साधन प्रयोग हुनेगरी आवधिक योजना निर्माण गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । छलफलका सहभागीले योजना बनाउनु मात्र ठूलो कुरा नभएको भन्दै कार्यान्वय गर्न सकिने योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

जिल्लाको बगनासकाली गाउँपालिकाको आयोजनामा बिहिबार भएको त्रिवर्षीय आवधिक योजना तर्जुमाको सुझाव संकलन कार्यक्रमका सहभागीले सम्भावनाहरूलाई समेट्दै स्थानीय साधन स्रोतले थेग्न सकिने योजना बनाउनुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर, चुनौतीका विषयमा राय संकलन गरिएको थियो । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले आवधिक योजनाले गाउँपालिकाको सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विकासका सवै पक्षलाई प्राथमीकरण गरेर योजनाबद्ध विकासको खाका कोर्ने भएकोले योजना कार्यान्वयनका लागि सर्वपक्षीय सहयोग आवश्यक हुने औंल्याउनुभयो ।

नेकपाका प्रतिनिधि हरि पाठकले आवधिक योजनामा सम्भावना देखिएझैँ चुनौती समेत रहने भएकोले जिम्मेवारीपूर्ण ढंगले योजना बनाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रतिनिधि यमलाल तिमिल्सिनाले भूगोल र संस्कृति सुहाउँदो योजना तयार गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने धारणा राखे । कार्यक्रममा राप्रपाका प्रतिनिधि कपिल ढुंगाला, गाउँकार्यपालिका सदस्य तेजप्रसाद रसाइली, विजुली विश्वकर्मा, विषयगत शाखाका प्रमुखहरूले संचरना जोगाई, जोखिम क्षेत्र पहिचान गर्दै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गत आवमा आवधिक योजना सुभारम्भ भएको जानकारी गराउँदै कोभिड १९का कारण आवधिक योजना निर्माणको कार्यक्रमसमेत केही प्रभाववित बनेको बताए । उनले आवधिक योजनाको अभावमा तदर्श निर्णय गरी विकास योजना अगाडि बढाइएको उदाहरण दिदै आवधिक योजनाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, वातावरण र विपद एवं संस्थागत विकास र सेवाप्रवाहलाई छरितो र पारदर्शी बनाउने बताए ।

गाउँपालिकालाई नमूना बनाउन गाउँपालिकाले योजनाबद्ध विकास र समृद्धिका लागि अलना इन्टरनेशनल सर्भिसेस प्रालिसँग तीन वर्षे आवधिक योजना निर्माणको काम शुभारम्भ गरेको श्रेष्ठले जानकारी दिए । आवधिक योजना निर्माणको हालसम्मको प्रगतिबारे जानकारी गराउँदै अलना इन्टरनेशनल सर्भिसेस प्रालिका प्रतिनिधि कृष्ण पौडेलले बगनासकाली गाउँपालिकाको अवसर, चुनौती, कार्यक्रम, समस्या एवं स्थलगत छलफलबाट प्राप्त उपलब्धिका बारेमा अवगत गराए ।

उनले बगनासकाली गाउँपालिकामा कृषिमा निर्वाह मुखी प्रणाली, वास्तविक कृषक सूचनाको हकबाट बञ्चित रहेको, गाउँपालिकामा पर्यटन विस्तारको लागि आवश्यक पूर्वाधार नपुगेको, विपद जोखिम न्यूनीकरणको लागि वस्ती रुपान्तरण आवश्यक भएको, सामुदायिक विद्यालय र निजी विद्यालयबीचको अन्तरभेद न्यूनीकरणमा चुनौती, पानीजन्य सरुवा रोगीको संख्यामा वृद्धी, खानेपानीको मुल संरक्षणमा गाउँपालिका पछाडि रहेको जस्ता चुनौती र सम्भावना देखिएको बताए ।

यस्तैगरी गाउँपालिकामा पेमौसमी कृषि उत्पादनको सम्भावना, जैविक खेतीतर्फ आकर्षित गर्न सकिने, बहुआयामिक प्राविधि विद्यालय आवश्यक रहेको स्थिति औंल्याउँदै सूचना सञ्चार पहुँच विस्तारमा जोड दिनुपर्ने बताए ।

आवधिक विकास योजनाका लागि विकासको दिर्घकालीन सोचको निर्धारण, विषयगत रणनीति तथा कार्यक्रम सम्बन्धी छफलफल, आगामी तीन वर्षको समग्र राजश्व र व्ययको प्रक्षेपण, विकासका प्राथमिकता निर्धारण, कार्ययोजना, आवधिक योजनाको कार्यान्वयन, वार्षिक योजना तर्जुमा खाकालगायतका विषयलाई टुंगो लगाई निर्धारित समयमै योजना त्रुटी भएका ठाउँमा सच्चाएर दुईमहिनाभित्रमा पुस्तककारूपमा ल्याउने तयारी भइरहेको गाउँपालिका स्रोतले बताएको छ । छलफलका सहभागीले आवधिक योजना निर्माणका क्रममा केही कार्यक्रमहरू महत्वाकांक्षी देखिएको बताएका थिए । उनीहरूले आवधिक योजनाले स्थानीय तहमा विधि र प्रक्रियालाई संस्थागत गर्ने भएकोले योजना निर्माणलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width