सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो

रासस
असाेज १६, २०७७

काठमाडौँ, १६ असोज । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो ।

गत जुन १० अर्थात् जेठ ३० गतेदेखि शुरु भएको मनसुन अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि बाहिरिन थालेको महाशाखाले बताएको छ । नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन पूर्णतया बाहिरी सकेको मौसमविद् विभूती पोखरेलले बताए ।

अहिले बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय रहेका कारण नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने उनले जानकारी दिए । वाग्मती प्रदेश, प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि वर्षा निकै कम भएकाले छिट्टै यी क्षेत्रबाट पनि मनसुन बाहिरिने सङ्केत देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मनसुनले विदा हुने लिने गर्छ ।

महाशाखाले जनाएअनुसार आगामी ३ दिन प्रदेश, १, २, वाग्मती, गण्डकी प्रदेश र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मनसुन शुरु भएयता जेठ ३० गतेदेखि हालसम्म बाढी, पहिरो, चट्याङलगायतका विपद्मा ठूलो जनधनको क्षति भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मनसुन शुरु भएदेखि हालसम्म बाढी, पहिरोसहितका विपद्मा परी ३ सय ६७ जनाको मृत्यु भएको छ । एकसय जना बेपत्ता छन् । साथै विपद्का कारण ३ सय १७ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मात्र २ सय ९३ जनाको ज्यान गएको छ । अझै बेपत्ता ६४ जनाको खोजी भइरहेको छ । अन्य २ सय २२ जना घाइते भएका थिए । त्यस्तै बाढीबाट ३९ जनाको मृत्यु भएको छ । बाढीमा परी ३६ जना बेपत्ता र नौ जना घाइते भएका थिए । त्यसैगरी चट्याङ लागेर ३५ जनाको मृत्यु र ८६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा भएका जनधनसहितको भौतिक क्षतिको पूर्ण विवरणको विश्लेषण प्राधिकरणले गरिरहेको छ । अन्य भौतिक क्षतिको विवरण मनसुन पूर्णरूपमा बाहिरिइसकेपछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width