पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्याल

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७७
pu

पोखरा, १४ असाेज । पोखरा विश्वविद्यालयमा लामो समयसम्म रिक्त उपकुलपति पदमा प्राडा प्रेमनारायण अर्याल नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम प्राडा अर्याललाई बुधबार नियुक्त गरेका हुन् । नवनियुक्त उपकुलपति अर्यालले आइतबार विश्वविद्यालयको केन्द्रीयकार्यालय लेखनाथमा पदबहाली गर्ने कार्यक्रम छ । उनको पदवधि ४ वर्षको हुनेछ ।

विसं २०११ मा गुल्मीको आरुचौरमा जन्मेका अर्याल चितवन स्थायी ठेगाना भई हाल काठमाडौं कीर्तिपुर बस्दै आएका छन् । उनले त्रिविबाट शिक्षाशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

२०३८ सालमा सहायक प्राध्यापकबाट प्राध्यापन सेवा शुरू गरी २०७४ सालमा सेवानिवृत्त उनले बाल विकास शिक्षामा बनारस हिन्दू विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

वरिष्ठ शिक्षाविद् अर्याल काठमाडौं शिक्षा क्याम्पसको संस्थापक क्याम्पस प्रमुख, २०७४ सालमा गठित उच्चस्तरीय शिक्षा आयोगको सदस्य, युनेस्को क्लब राष्ट्रिय महासंघको पूर्व अध्यक्ष, शैक्षिक अनुसन्धान तथा सामाजिक विकासको अध्यक्ष, दक्षिण एशियाली क्षेत्रीय सहयोग केन्द्र (सार्क) को क्षेत्रीय तहको शिक्षासम्बन्धी प्रशिक्षक एवम् नेपाल पब्लिक क्याम्पस संघको पूर्व अध्यक्ष एवम् सल्लाहकार भई कार्यानुभव लिइसकेका छन् ।

उनी हाल नेपाल खुला विश्वविद्यालयको सिनेट सदस्य, सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सदस्य र प्रजातान्त्रिक समाज, कीर्तिपुरको अध्यक्षसमेत छन् । उनले शैक्षिक तथा अनुसन्धानका विषयमा विभिन्न देशको भ्रमण समेत गरेको पोखरा विश्वविद्यायका सूचना अधिकृत लोकप्रसाद ढकालले विज्ञप्तिमार्फत जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width