जिल्लाभर एउटै ठेकेदारको एकछत्र राज, वर्षौंदेखि ठेक्का लिने, काम नगर्ने

प्रकाश ढकाल
असाेज १४, २०७७
prakash

लामो समयदेखि काम अड्किएको नाशों गाउँपालिकास्थित दूधखोला माथि निर्माणाधीन पुल ।

मनाङ, १४ असोज । चार वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोला माथि पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरि मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्त रुपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम थोंचेदेखि पल्लो गाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल २०७३ सालको असारमा ठेक्का लगाइएको थियो । २०७४ साउन २३ मा सक्नुपर्ने सुरुको सम्झौता भएपनि हालसम्म तीन पटकसम्म म्याद थप भएको छ । तर कामको प्रगति छैन । भ्याटबाहेक ३ करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब १ करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेका छन् । पूर्वाधार कार्यालय मनाङका अनुसार दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ । फिल्डमा त्यति काम देखिँदैन । दुईतिर वाल उठाएर मात्रै छोडिएको छ । ‘पुल बन्ला भनेर वारी पारी सडक खनिसक्यौं । वर्षौं बितिसक्दा पुल बनेन,’ नाशों गाउँपालिका अध्यक्ष चन्द्र घले भन्छन्, ‘ठेकेदारलाई कारबाही गर्नुको सट्टा म्याद थपेर झन् समस्या भयो ।’ यो पुल नबन्दा मनाश्लु पदमार्गमा जाने पर्यटकलाई हिड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन्, स्थानीय ।

मस्र्याङ्दी नदी माथि हुम्डेमा पुल बनाउन जिल्ला विकास समितिले २०७३ कै असारमा अर्को टेण्डर निकाल्यो । श्री गाल्वा र क्याराभान कम्पनीले यसको ठेक्का पाए । भ्याट सहित ४ करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल २०७४ माघमा सक्नुपर्ने हो । समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो । पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा ६ वटा पुलको ठेक्का लगाएको थियो । यी दुईवटा मात्रै होइन, मनाङका ६ वटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो ।

त्यसमध्ये लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल ढिलो गरी सकिएर गाडी गुड्न थालेको छ भने अरु सबैजसो पुल अलपत्र अवस्थामा छन् । तिमाङखोलाको पुल अन्तिम चरणमा पुगेको बेशिसहर चामे सडक आयोजनाका प्रमुख सुमन अधिकारीले बताए । ‘म्यार्दीमा केही सोलिङ बाँकी छ । तिमाङको सकिन लाग्यो,’ उनले भने, ‘तिमाङमा त डिजाइन नै फेर्नुपर्ने भयो । त्यसैले केही ढिलो हुन गएको हो ।’ २०७४ असार ८ मा २ करोड २६ लाख लागतमा तिमाङखोला पुलको सम्झौता भएको थियो । २०७५ पुस ८ मा सक्नुपर्ने म्याद भएपनि हालसम्म यसको म्याद समेत थपिएको छैन । म्यार्दीको पुल निर्माण करिव सकिएपछि बाढीले बगाएको थियो ।

काम नगर्ने कम्पनीलाई पटक–पटक म्याद थप्दै नयाँ ठेक्का समेत सुम्पने गरिएको छ।

सडक डिभिजन कार्यालय दमौलीले मनाङमा दुईवटा पुल निर्माण गर्दै छ । पिसाङ र मुङजीमा निर्माणाधीन पुल अहिलेसम्म सकिएको छैन । ३ करोड ६९ लाख लागत अनुमान सहित डेढ वर्षमा सक्नुपर्ने पिसाङ पुल २०७४ जेठमा सम्झौता भएको थियो । २ पटकसम्म यसको म्याद थप भैसकेको छ । यद्यपि काम अझै बाँकी छ । ‘पुस १४ सम्म म्याद छ । यसपालि सकिन्छ होला,’ डिभिजन सडक दमौलीका इन्जिनियर नारायण पौडेलले भने, ‘मुङजीको म्याद पुस १० सम्म छ । यही म्याद भित्र सक्न दबाब दिएका छौं ।’ मुङजीपुल निर्माणका लागि २०७४ पुस २६ मा सम्झौता भएको हो । यसको २ वर्ष म्याद थियो । पुल निर्माणका लागि ९ करोड लागत अनुमान गरिएको छ ।

जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेको बताए । ‘धेरै पटक भनिसक्यौं । अनुगमनमा जाँदा कम्पनीका मान्छे भेटिँदैनन् । कहिले काहि सामान ल्याए जस्तो मात्रै गर्छन्,’ उनले भने, ‘बाढी पहिरो झर्ने बेला काम गरेजस्तो देखाउने अनि बगाएर लैजान्छ । काम नगर्नेलाई सरकारले कारबाही गर्नुपर्छ ।’

ठेकेदारले समयमा काम नगरिदिँदा मुख्य सडकमा कतै काठे पुल तर्नुपरेको छ भने कतै खोलामै गाडी छिराउनु परेको छ । ‘ठेकेदार अटेरी छ । धेरै पटक ताकेता गर्दा नि सुन्दैन,’ मनाङकै एक उच्च कर्मचारी भन्छन्, ‘कारबाही गर्न सम्बन्धित निकाय डराउँछ । साह्रै शक्तिशाली रहेछ ।’ पुरानै ठेक्का अल्झाइराखेको क्याराभान कम्पनीलाई नै अहिले घोप्टे खोलाको बेलिव्रिज निर्माणको जिम्मा दिइएको छ । बेशिसहर चामे सडक आयोजनाले ३२ लाख लागतमा पुल बनाउने ठेक्का क्याराभानलाई सुम्पेको हो । अहिले थपिएको समयमा पनि काम नसके नियमानुसार कारबाही अघि बढाउने पूर्वाधार कार्यालय मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । ‘धेरै पटक म्याद थप भैसक्यो । यो सिजनमा जसरी पनि सक्नुपर्छ,’ उनले भने, ‘सकिएन भने नियमानुसार कारबाही अघि बढाउने हो । अब म्याद थप्ने ठाउँ छैन ।’

ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक पटक अख्तियारका प्रतिनिधिलाई खवर समेत गरे । तर कुनै सुनुवाइ नभएको उनीहरु बताउँछन् । निर्माण कम्पनी क्याराभानका फिल्ड इन्जिनियर प्रशान्त तामाङले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए । ‘हिउँद लागेपछि हिउँ पर्छ । बर्खामा बाढी पहिरो छ । भनेको बेला सामान ल्याउन सकिँदैन,’ उनले भने, ‘कति पुल बनाउँदा बनाउँदै बगाएको छ । मौसमकै कारण तोकिएको समयमा काम गर्न नसकिएको हो ।’ निर्माण सामग्रीको ढुवानीमा समस्या भएको उनले बताए । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ठेक्का ओगट्ने र काम नगर्ने ठेकेदारलाई आँखा चिम्लेर कारबाही गर्ने बताए । ‘अहिलेसम्मका योजना संघ सरकारको थियो । केही योजना हाम्रो मातहत आएको छ,’ उनले भने, ‘अहिले थपिएको म्यादभित्र काम नभए कारबाही हुन्छ । कुनै पनि बहानामा उम्किन मिल्दैन ।’ मनाङका अधिकांश ठेक्का क्याराभानले नै पाएको छ । अहिले यही कम्पनीले १० करोड लागतको जिल्ला कारागारको भवन निर्माण गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width