दसैँलाई सहुलियत मूल्य पसल सञ्चालन हुने

रासस
असाेज १३, २०७७

काठमाडौँ, १३ असोज : दसैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा २ कम्पनीलाई काठमाडौैँ उपत्यकामा पाँच/पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिए ।

मन्त्रालयमा भएको छलफलमा दुबै कम्पनीले एक अर्काका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन् । साल्ट ट्रडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पाेरेशनले जनाएको छ ।

तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने
कम्पनीले दसैँका लागि ३ जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।
शुरुआती चरणमा उक्त स्थानबाट ३ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा २ हजार मात्र ल्याइने भएको छ ।
गत वर्षको मागअनुसार ३ हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि २ हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width