कोरोनाबाट १७ देशमा २६५ नेपालीको मृत्यु

रासस
असाेज १२, २०७७
corona_1

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कूल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७ सय ३२ को निधन भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width