पर्यटकलाई ३० प्रतिशतसम्म छुट

रासस
असाेज ११, २०७७
Sauraha

चितवन, ११ असोज । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।

सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने ‘व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाै ।’

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताए । उनले भने, ‘प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौँ ।’ ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गरे । सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार पाँच सय जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल यही असोज १ गते यता क्रमशः सरसफाई र खुल्ने क्रम शुरु भएको छ ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् । पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । लकडाउनको अवधिमा बीचको समयमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width