आफन्तको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

sadhanramjali साधन राम्जाली
असाेज ११, २०७७

म्याग्दी,११ असोज । जिल्लाको धवलागिरी गाउँपालिका –६, आरबाङस्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

धनबहादुर जुग्जालीले श्रीमति र दुई छोरीको सम्झनामा पचास हजार रुपैयाँँको ‘हिरादेबी करिश्मा कन्चन स्मृती अक्षयकोष’, भीमप्रसाद जुग्जालीले श्रीमती गौसरा, बुहारी दिमा, नातिनी दिप्ती र नाति दिवन जुग्जालीको स्मृतीमा पच्चीस हजार रुपैयाँको ‘गौशरा स्मृती अक्षयकोष’ र नाखे गुरुङले स्वर्गिय धर्मपत्नी लालमति गुरुङको सम्झनामा एक लाख रुपैयाँको ‘लालमति स्मृती अक्षयकोष’ स्थापना गर्नुभएको विद्यालयमा प्रअ तिलक गर्बुजाले जानकारी दिए ।

धनबहादुरका श्रीमति र दुई छोरी तथा भीमप्रसादका श्रीमति, बुहारी, नातिनि र नाति अविरल बर्षातका कारण असार २५ र २६ मा गएको पहिरोमा परेर मृत्यु भएको थियो । अक्षयकोषको रकम मुद्दती खातामा जम्मा गरिने भएको छ । उक्त रकमबाट प्राप्त हुने आम्दानी विद्यालयमा संचालन गरिने अतिरित्त कार्यक्रम तथा विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार विद्यालर्थीहरुलाई छात्रवृत्तीका लागि प्रयोग गरिने प्रअ गर्बुजाले बताए ।

२०२९ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन हुँदै आएको छ । यसैगरी, सोही कार्यक्रममा २०६४ देखि २७३ सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका भुपु अध्यक्ष शान्त प्रसाद पुनलाई विदाई गरिएको थियो ।