लोभलाग्दा नारा, शोकमग्न तारा

असफल गौतम
असाेज ११, २०७७
tarakarki

पोखरा । ‘श्रीमान् खसे, ३० वर्षको छोरो खस्यो, जेठा ज्वाइँ खसे । एकै पटक तीन–तीन शोक परेपछि सुरै पाइनँ । घर छेऊमै स्थापना हुँदै गरेको वृद्धाश्रमतिर आएर मन बुझाएँ ।’

निधारमा पहेंलो टीको । ‘राधे कृष्णा–राधे कृष्णा’ लेखिएको रामनामीको सप्को । तासको चोलो, घुर्मैलो सुतीको साडी, खद्दरको पटुका, दुई हातमा एकुन्टा रैयाँ, आधाआधी फुलेको कपाल, मुखमा घुर्मैलो मास्क ।

यो हुलियाकी ती वृद्ध आमालाई थोरै संख्यामा त्यहाँ पुगेका मान्छे किन आएका थिए भन्ने थाहा नभए तापनि सामानका पोकापन्तुरा देख्दा हाम्रा लागि सहायता लिएर आए भन्ने अनुमान थियो ।

‘सामाजिक क्षेत्र ः राष्ट्रिय गौरव आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ नाराका साथ ४१ औं सामाजिक सेवा दिवस भनेर सञ्चारमा सरकारको सम्बोधनले उनलाई छोएन । छोयो त एउटा सामाजिक संस्थाको सौजन्यले । हात परेको जाडोको न्यानो पछ्यौराले र अनायासै टिलपिल–टिलपिल भरिए आँखाका डिल र अनायासै आँखा रसाए मोतीका केही थोपा ।

स्वास्थ्य सुरक्षा तथा लत्ताकपडा वितरणका लागि आश्रम पुगेको संस्थाले उपलब्ध गराएको जुसको सर्को तान्दै आमाले स्वेटर उधारे झैं आफ्ना दुःख उधार्न थालिन् ।

वृद्धाश्रम स्थापनासँगै आश्रय लिएकी आमाकी जेठी छोरी बागमारा कर्मघरमा छिन् । कान्छी आफ्नै गाउँका बानियाँ खानदानमा । ६ नातिनातिनाकी हजुरआमा तारा कार्कीलाई आफ्नो उमेर आफैलाई थाहा छैन । तैपनि अन्दाजी ५० वर्षमाथिको अनुमान गर्न सकिन्थ्यो । उनी रोगले भन्दा शोकले वृद्धाश्रम आएकी हुन् । यस्तै–यस्तै आपत र विपत्ले विक्षिप्त भएका धेरै ताराहरु वात्स्यायन वृद्धाश्रममा आश्रय लिइरहेका छन् ।

नेपालमा सामाजिक सेवा दिवस मनाउन थालेका ४१ वसन्त बिते । यही सन्दर्भ पारेर दिवसको पाँचौं दिन शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल (नेलम्बो) आश्रम पुग्यो । जहाँ आश्रित २० वृद्धवृद्धामध्ये पुरुषका लागि एक–एक थान ज्याकेट र महिलाका लागि पछ्यौरा उनीहरुकै हातमा पारिदिए । साथै आश्रमलाई खुट्टाको सहायताबाट चलाउने दुई सेनिटाइजर स्ट्याण्ड, २० थान डिटोल सावुन । दुई सय थान माक्स, ६ लिटर सेनिटाइजर, ३० थान जुस गरी २६ हजार रुपैयाँ बराबरको सहायता सामग्री हस्तान्तरण गरे । त्यही सानो सहयोगले ताराजस्ता ताराका मुहारमा करोडौंको खुसी र चमक दियो ।

वृद्धाश्रमका व्यवस्थापक युवराज वाग्लेलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा.किसन कोइरालाले ती सामग्री हस्तान्तरण गरेका हुन् ।

नेलम्बो नेपालका अध्यक्ष देवकोटाले संस्था निरन्तर सामाजिक कार्यमा लागेको र हाल विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को विषम् परिस्थितिमा पनि खाद्य, स्वास्थ्य सुरक्षा, वातावरणीय र सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेका बेला वृद्धाश्रमका बुबाआमालाई जाडोको न्यानो लिएर आएको बताए ।

नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. कोइरालाले सामाजिक सेवा दिवस फरक–फरक कार्यक्रम गरेर सप्ताहव्यापी रुपमा मनाउँदा मिलेका यस्तै खुसीले थप सामाजिक सेवाका कार्यमा लाग्न प्रेरणा मिलेको बताए ।

वृद्धाश्रमका व्यवस्थापक वाग्लेले हरेक सामाजिक संस्थाले ३ सय ६४ दिन आफ्ना काम गरेर एक दिन आफ्नो आश्रम सम्झिदिए भगवान्रुपी आमाबाबाका मुहारमा खुसी छाउने बताए ।

नेलम्बो नेपालका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले संस्थाका गतिविधि अगाडि बढाउन प्रेरणा र हौसला प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

यो मात्र होइन, संस्थाले शुक्रवार पोखरा–१८ निवासी मनोरोगी सन्तबहादुर ढकाललाई औषधि सहयोग गरेको थियो । किनकि संस्थाले विगत डेढ वर्षदेखि उनलाई नियमित औषधि सहयोग गर्दै आइरहेको छ ।

समाज कल्याण परिषद्मा दर्ता भएका ५५ हजार बढी सामाजिक संस्थामध्ये २५ हजार जति संस्था सक्रिय छन् । जसमध्ये दुई हजार एक सय जति संस्था जो दाताको सहयोग लिन्छन् र अर्बौ सरकारलाई कर तिरेर सामाजिक काम गर्छन् । सरकारले सहयात्राका नाममा तिनै संस्थाको मुख ताकेर बसिरहन्छ ।

आश्रय लिएमध्येकी सानो उमेरकी देखिने धनमायाले भनिन्, ‘यहाँहरुको जय–जय होस् । बाबुनानी फेरि पनि आउनू है ।’

हिजोआज घरदैलोमा सिंहदरबार आएको भनिन्छ । सरकारले हरेक दिनजसो विभिन्न दिवस पारेर विविध नारा दिएर सम्बोधन गरेको टिभीमा देखियो, समाचारमा पढियो, सुनियो । तर, शोकमग्न कैंयौँ ताराका रसाएका आँखा कहिलेसम्म रसाइरहने ? अनि कहिलेसम्म ती सहाराविहीन आमाबाबाले बाबुनानी फेरि पनि आउनू है भनिरहने ?त्यसतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width