पोखरामा आधा शताब्दीकै बढी वर्षा

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७७
raining

शुक्रबार भीषण वर्षाका कारण लेकसाइड क्षेत्रमा जलमग्न सडक । तस्वीर : पत्रकार पुण्य पौडेलको फेसबुकबाट ।

पोखरा । पोखरामा ५० वर्षयताकै अधिक वर्षा भएको छ । सन् २०२० को ९ महिना नबित्दै आधा शताब्दीको रेकर्ड ब्रेक भएको हो । सन् १९७१ देखि हालसम्म भएको अधिक वर्षाको रेकर्ड सन् २०२० को सेप्टेम्बर अन्तिम सातासम्म आइपुग्दा रेकर्ड भङ्ग भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।

वर्षभरिकै अधिक वर्षामात्र नभै मनसुनी वर्षा र सेप्टेम्बरमा भएको वर्षा पनि सन् १९७१ यताकै सबैभन्दा बढी भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान कार्यालय, पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकालका अनुसार सन् २०२० मा भएको वर्षाले विभिन्न ३ रेकर्ड ब्रेक गरेको हो ।

पोखरामा सन् २०२० जनवरीदेखि सेप्टेम्बर २६ सम्म ५ हजार ५९ मिलीमिटर वर्षा भैसकेको छ । यो ५० वर्षयताकै अधिक वर्षा हो ।

यसबीचमा मनसुनी वर्षामात्रै ४ हजार ३ सय ९६ मिमि भएको छ । मनसुनी वर्षा यस वर्ष यो अवधिसम्म कुल वर्षा तुलनामा ८० प्रतिशत हुन आउँछ ।

यसअघि सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिमी वर्षा भएको रेकर्ड छ । त्यसबेला मनसुनी वर्षा ३ हजार ९ सय २० मिमी भएको थियो । पोखरामा सरदर वर्षभरिमा ३ हजार मिमी वर्षा हुने गरेकोमा यसपालि मनसुनकै कारण अत्याधिक बढेको हो । मनसुनी समय ४ महिनामध्ये हरेक महिना वर्षा भयो । सबैभन्दा बढी सेप्टेम्बरमा हुन गएको हो । सन् २०२० पूरा हुन अझै ३ महिना बाँकी छ । त्यसो हुँदा यसले रेकर्ड ब्रेकसँगै फराकिलो दूरी कायम गर्ने पक्का छ ।

पोखरामा गत वर्ष सन् २०१९ मा ३ हजार ९२ मिमी वर्षा भएको थियो । साथै मनसुनी वर्षा २ हजार ८३ भएको थियो । त्यस्तै, सन् २०१८ मा २ हजार ९ सय ३४ मिमी र मनसुनी वर्षा २ हजार १ सय ६३ मिमी वर्षा भएको थियो । नेपालमा मनसुन जुन १० देखि भित्रिएर सेप्टेम्बर २३ सम्म (१२० दिन) रहने गर्दछ ।

साथै, सेप्टेम्बर महिनामा मात्रै भएको वर्षा ५० वर्षयताकै एक महिनाको अधिक वर्षा हो । वरिष्ठ मौसमविद् ढकालका यस अवधिमा पोखरामा १ हजार ३ सय ५ मिमि वर्षा भएको हो । यसअघि सन् २००७ को सेप्टेम्बरमा सबैभन्दा बढी १ हजार १ सय ८६ मिमि वर्षा भएको रेकर्ड थियो ।

पोखरामा सामान्यतया मनसुनी समय सेप्टेम्बरमा सरदर ६ सय ४० मिमि वर्षा हुने गर्दछ । यसपालि सरदर हुने वर्षाको दोब्बर वर्षा भएको हो ।

नेपालमा अझै दुई/चार दिन मनसुन कायम रहेकोले यो बढ्न सक्ने अनुमान छ । सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन सकिने भए पनि यस वर्ष बढेको हो ।

हावापानी तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले अझै केही दिन मनसुनी वर्षा हुने बताए ।

यसपालि भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको हुँदा अधिक वर्षा भएको मौसमविद् बताउँछन् । हाल मौसमी वायु उत्तर–पूर्व सरेको छ । अब केही दिन नेपालको पूर्वी भेगमा वर्षा हुनेछ ।

कास्कीको लुम्ले नेपालकै चेरापुञ्जी मानिन्छ । यहाँ नेपालमै सबैभन्दा बढी पानी पर्छ । पोखरामा शुक्रबार साँझमात्रै करिब १३ मिमी वर्षा भएको थियो । मुसलधारे वर्षाका कारण पोखराका सडकहरु जलमग्न भएका थिए । सवारी आवागमनमा तथा पैदल हिड्ने मानिसलाई असहज भएको थियो। सहरका गल्ली–गल्लीहरुमा पानीको सतह माथिसम्म आउँदा केही ठाउँमा घरभित्रै पानी पसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width