नेपालमा कोरोना संक्रमणको ठिक ८ महिना, ७० हजार संक्रमितमा ५१ हजार निको

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७७
Corona_dark

पोखरा, १० असाेज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७० हजार नाघेको छ । गत माघ ९ मा नेपालमा पहिलो पटक संक्रमित देखा परेको ठिक ८ महिनापछि असोज ९ मा नेपालमा संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको हो ।

संक्रमितको तुलनामा निको हुने पनि क्रमशः बढेका छन् । हालसम्म संक्रतिमध्ये निको हुनेको संख्या ५१ हजार ८ सय ६६ छ । निको हुने दर ७३.४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीमा गत वर्ष माघ ९ मा सर्वप्रथम कोरोना संक्रमण देखा परेको हो । त्यसको २ महिनापछि फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी काठमाडौंकी युवतीमा चैत १० मा संक्रमण भएको पुष्टि भयो । चैत १२ मा धादिङका ३२ वर्षीय युवकमा देखा पर्‍यो । उनी पनि विदेशबाट आई त्रिभुवन विमानस्थल उत्रिएका थिए । चौथो संक्रमित राजधानीबाहिर पहिलो पटक बागलुङमा एक युवतीमा चैत दोस्रो साता देखिएको थियो ।

नेपाल सरकारले दोस्रो संक्रमित पुष्टि भएपछि चैत ११ देखि देशभर ४ महिना लामो लकडाउन गरेको थियो । पछिल्लो समय लकडाउन, निषेधाज्ञा, सिल, सटडाउन लगायत नाममा बन्द कायमै रहेकोमा सो क्रमशः खुकुलो पार्दै असोज १ देखि लागू हुने लामो दूरीमा सार्वजनिक यातायात, आन्तरिक हवाइ उडानसम्म खोल्न सरकारले अनुमति दिएको हो । कोरोना संक्रमितको बढ्दो ग्राफ कायमै रहँदा सर्वसाधारणको दबाबका कारण सरकारले बन्दाबन्दी खुकुलो पार्दै गएको थियो । बन्दाबन्दी खुले पनि कोरोना संक्रमण जोखिम भने बढ्दो छ । नेपालीको ठूला चाडहरु दसैँ–तिहार आँगनमा आइसकेकोले आवतजावत बढी हुने हुँदा झनै संक्रमित बढ्ने सक्ने अनुमान छ ।

हाल नेपालमा प्रत्येक दिनजसो एक हजार बढीमा कोरोना संक्रमण देखिन थालेको छ । सोही अनुपातमा निको हुने पनि बढेका हुन् । केही दिनअघि एकै दिनमा सबैभन्दा बढी २ हजार संक्रमण देखा परेको थियो । नेपालमा २५ हजारभन्दा बढी सक्रिय संक्रमित देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई पुनः लकडाउन गर्न सिफारिस गरेको छ । हाल यो संख्या १८ हजार हाराहारीमात्र छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

देशभर हाल १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्, ४५९  जनाकाे मृत्यु भएको छ

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् । देशभर हाल १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

हालसम्म आइसियुमा २ सय २७ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । संस्थागत आइसोलेशनमा ८ हजार २ सय ३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ४६४ जना छन् ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित जिल्लामा मोरङ, सिराह, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर गरी सात जिल्ला छन् भने सोलुखुम्बु, मनाङ, रसुवा, हुम्ला, मुगु, मुस्ताङ र रोल्पामा सक्रिय संक्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

चीनको वुहान सहरबाट सन् २०१९ डिसेम्बरमा सर्वप्रथम कोरोना भाइरस अर्थात् कोभिड–१९ देखा परेको हो । महामारीको रुपमा फैलिएको सो भाइरसको चपेटाले विश्व अहिले आतंकित छ । छिमेकी देश भारतमा कोराना भाइरसबाट संक्रमित भएकामध्ये एकै दिनमा १ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ संक्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ५८ लाख १८ हजार ५ सय ७१ पुगेको अधिकारीले बताएका छन् । भारतमा ९२ हजार २ सय ९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

कोरोनाको औषधी उपाय खोजी भइरहेको छ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width