‘होटल तालिम गर्न देऊ’

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७७
Hotel Talim Gyapanpatra

पोखरा । होटल तालिम प्रदायक संघ नेपालले होटल तालिम सञ्चालन गर्न पाउनुपर्ने माग राखेको छ ।

संघ अध्यक्ष ज्ञानबहादुर राना नेतृत्वको टोलीले कोरोनाका कारण आफ्नो व्यवसाय चौपटमा परेको भन्दै सो मागसहित बुधबार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको हो ।

प्रजिअ ढकालले कक्षा सानो हुने भएपनि हाललाई भर्ना लिइ अनलाइन माध्यमबाट सैद्धान्तिक कक्षा सञ्चालन गर्न सकिने आश्वासन दिए । आमनागरिकका यस्ताखालका अन्य गुनासा समेत आएको भन्दै उनले सरकारले छिट्टै सकारात्मक तथा उचित निर्णय लिने विश्वास समेत दिलाए ।

ज्ञापनपत्रमा कोभिड–१९ महामारीका कारण रोकिएका छोटा अवधिका होटल तालिम पुनः सञ्चालन गर्न दिन माग गरिएको छ । त्यस्तै, होटल, रेष्टुरेण्ट तथा सार्वजनिक यातायात समेत सञ्चालन भइसकेको अवस्थामा अति न्यून संख्यामा प्रशिक्षार्थी हुने होटल तालिमलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सञ्चालनको अनुमति दिन समेत ज्ञापनपत्रमार्फत् माग गरिएको छ ।

त्यसैगरी, होटल तालिममा पोषणयुक्त तथा स्वस्थकर खाना र सरसफाइका बारेमा समेत सिकाइने उल्लेख गर्दै व्यक्तिगत तथा वातावरणीय सरसफाइसम्बन्धी कुरा समेत तालिममार्फत् सिकाइने ज्ञापनपत्रमा जनाइएको छ । होटल तथा पर्यटन व्यवसायलाई आवश्यक दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवा युवतीलाई होटल तथा पर्यटन व्यवसायमा संलग्न गराइ रोजगार एवं स्वरोजगार उन्मुख बनाउन होटल तालिम प्रदायक संस्थाहरूले उल्लेख्य योगदान गरेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width