जैमिनी बाढीपीडितलाई राहत

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
jaimini

बागलुङ । जैमिनी नगरपालिकामा बाढीबाट पीडित बनेका ७ परिवारलाई जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ समाज पोर्चुगलका तर्फबाट २ लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ ।

जिल्ला सहकारी संघका पदाधिकारीहरुको टोली मंगलवार जैनिमी वडा १ र ५ स्थित पीडितको घरमा पुगेर पीडितहरुलाई राहत रकम हस्तान्तरण गरेको हो ।

जिल्ला सहकारी संघले पहिरोमा परी मृत्यु भएका परिवारका सदस्यलाई जनही १५ हजारका दरले र घर क्षतिग्रस्त बनेका परिवारलाई ९ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

यस्तै, बागलुङ समाज पोर्चगलका तर्फबाट मृतकका परिवारका सदस्यलाई जनही १५ हजार ५५ र घर क्षतिग्रस्त बनेका परिवारलाई जनही ९ हजार १ सय ४० रुपैयाँ दरले आर्थिक सहयोग गरेको हो ।

भदौ २८ र २९ गते आएको पहिरोमा परी जैमिनी नगरपालिका वडा १ टुनीबोटका लक्ष्मीदेवी पाध्या र हरिकृष्ण शर्मा तथा वडा ५ बिनामारेमा जाल्पा पाध्याको मृत्यु भएको थियो । पहिरोले वडा १ टुनीबोटका पवित्रादेवी शर्मा, इन्द्र बहादुर क्षेत्री, नन्दलाल पौडेल, रिवनाथ पौडेल, तारा बोहोरा क्षेत्री र शान्ति आचार्य क्षेत्रीको घर क्षतिग्रस्त बनेको थियो । पहिरो पीडितहरु यतिबेला छिमेकीको घरमा बसीरहेका छन् ।

बागलुङ लगायत छिमेकी जिल्लाका सहकारी संघ संस्थाहरुबाट रकम संकलन गरी पहिरो पीडितहरुका लागि सहयोग गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

बागलुङबाट पोर्चुगलमा गई विभिन्न पेशा व्यवसायमा रहेकाहरुले गठन गरेको बागलुङ समाज पोर्चुगलका तर्फबाट जैमिनीमा पहिरोबाट पीडितहरुको सहयोगार्थ १ लाख रुपैयाँ रकम सहयोग भएको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।

टुनीबोटमा भएको राहत हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका उपप्रमुख लिला रानाले जैमिनीमा भएको पीडामा सहकारी अभियान र पोर्चुगलवासी नेपालीहरुले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width