लकडाउनमा गैंडा तस्करी घट्यो

रासस
असाेज ६, २०७७
Rhino

जोहानेसबर्ग, ६ असोज । दक्षिण अफ्रिकामा कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण गैंडाको चोरी तस्करी निकै घटेको अधिकारीहरुले जनाएका छन् । पृथ्वीकै लोप हुने खतराको सूचीमा रहेको गैंडा मारिनेक्रम फेरि शुरु हुने खतरा विज्ञहरुले औंल्याएका छन् ।

दक्षिण अफ्रिकामा लकडाउन गत मार्चको अन्त्यमा घोषणा गरिएको थियो । सबै अन्तर्राष्ट्रिय र स्वदेशी उडान तथा यात्राहरुमाथि प्रतिबन्ध लगाइएको थियो । अफ्रिकामा अहिले दैनिक जनजीवन विस्तारै खुला गर्न थालिएको छ भने आगामी अक्टोबर १ देखि अन्तर्राष्ट्रिय पर्यटकलाई पनि भ्रमणका लागि खुला गरिँदैछ ।

दक्षिण अफ्रिकाका वातावरण विभागका प्रवक्ता अल्बी मोडिसेले लकडाउनका कारण गैंडा मार्नेक्रम रोकिएको बताउँदै यस अवधिमा गैंडा चोरी तस्करी नियन्त्रणका सन्दर्भमा नयाँ उपायहरुको खोजी गरिएको जानकारी दिए ।

विभागका अनुसार यस वर्ष सन् २०२० को पहिलो छ महिनामा दक्षिण अफ्रिकामा मारिने गैंडाको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष छ महिनाको अवधिमा दक्षिण अफ्रिकामा १६६ वटा गैंडा मारिएका थिए ।

दक्षिण अफ्रिकामा करिब २० हजार गैंडा छन् । यो संख्या विश्वको कूल गैंडाको संख्याको झण्डै ८० प्रतिशत हो । बहुमूल्य गैंडाको खागका तस्करहरुले गैंडाको चोरी सिकारी गर्ने गरेका छन् । अफ्रिकी महादेशमा केन्या, नामिबिया र जिम्बाबेमा पनि गैंडा छन् ।

क्वाजुलु–नाटाल प्रान्तमा गैंडा संरक्षणका लागि स्थापित हुहुवे–मोलोजी निकुञ्जको वरिपरि ‘स्मार्ट बार’ बनाइएको छ जसले निकुञ्जभित्र छिर्न खोज्ने जोकोही व्यक्तिका बारेमा निकुञ्जका रक्षकहरुलाई पूर्व सूचना दिने गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width