वस्ती विस्थापन अध्ययनका लागि समिति

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७

वालिङ  । वालिङ नगरपालिकाले वस्ती विस्थापित गर्ने÷नगर्ने अध्ययनका लागि समिति बनाएर काम थालेको छ ।

नगरपालिकाका १४ वटा वडामा बाढीपहिरोका कारण जोखिममा परेका वस्तीहरु विस्थापित गर्नुपर्ने वा नपर्ने त्यसको अध्ययन गरी नगर कार्यपालिकामा प्रतिवेदन बुझाउन भनिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

“नगरपालिकाकाभित्रका १४ वटा वडाबाट जोखिममा परेका घरपरिवारबाट निवेदनहरु प्राप्त भईरहेका छन्” नगर प्रमुख खाँणले भने, “प्राप्त निवेदनहरुका आधारमा समितिले भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि एक महीनाको समयावधि दिएका छौं” ।

अध्ययन समितिले विस्थापित गर्नैपर्ने वस्तीहरु र तिनीहरुलाई विस्थापित गर्नुपर्ने सम्भावित सुरक्षित स्थानको खोजी गरी नगर कार्यपालिकामा प्रस्ताव गर्ने नगर प्रमुख खाँणले बताए ।

प्रस्तावित वस्ती तथा जग्गाहरुको भूगर्भविद्को सहयोगमा नगरपालिकाले अध्ययन गरेर आवश्यक निर्णय लिने नगर प्रमुख खाँणको भनाइ थियो ।

“भूगर्भविद्को भौगोलिक अध्ययनपश्चात उनीहरुले दिएको प्रतिवेदनका आधारमा पायक पर्ने स्थानमा एकीकृत वस्ती बसाल्छौं” नगर प्रमुख खाँणले भने ।

नगर कार्यपालिकाको ५७ औं बैठकले बाढी पहिरोको कारण जोखिममा परेका वस्तीहरुको भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि वडा १३ का अध्यक्ष आनन्द पाठकको संयोजकत्वमा इन्जिनियरसहितको आठ सदस्यीय समिति बनाएको छ ।

गठित समितिले प्राकृतिक विपदमा परेका वस्तीहरुमा पुगेर त्यहाँको बस्तुस्थिति बुझ्ने र सिफारिस गर्ने समिति संयोजक पाठकले बताए ।

जोखिममा रहेका वस्तीहरुमा रहेका घर परिवारको आफ्नै जग्गा भए ब्यवस्थित गर्ने र नभएमा पायक पर्ने स्थानमा जग्गा खोजेर ब्यवस्थापन गर्नका लागि सिफारिस गर्ने संयोजक पाठकको भनाइ थियो ।

नगरपालिकाका १४ वटै वडामा एकसयभन्दा बढी घरहरु जोखिममा परेको हुनसक्ने भएपनि यथार्थ विवरण भने आईनसकेको विपद ब्यवस्थापन शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width