दुग्ध उत्पादक किसानलाई बाेनस

सविन लामिछाने
असाेज ५, २०७७

दमौली, ५ असाेज  जिल्ला दुग्ध उत्पादक संघ, तनहुँले संघमा आवद्ध किसानहरुलाई ७५ प्रतिशत शेयर बोनस वितरण गर्दै आएको छ ।

२५ प्रतिशत संघको जगेडा कोषमा जम्मा गरी बाँकी ७५ प्रतिशत रकम शेयर बोनस वितरण गर्दै आएको हो । सहकारी ऐन अनुरुप आ–आफ्नो सहकारी संस्थामार्फत बोनस वितरण गर्ने व्यवस्था गरेको छ ।

संघले वार्षिक १० देखि १५ करोडसम्म कारोबार गर्दै आएको संघका सचिव राजु भुजेलले जानकारी दिए । ‘जिल्ला दुग्ध उत्पादक संघ तनहुँमा संकलन भएको दुधमध्ये ५० प्रतिशत मात्रै जिल्लाभित्र खपत हुने गरेको छ,’ उनले भने, ‘दैनिक ३ हजार लिटर दुध सजिलै खपत हुने गरे पनि अहिले मुश्किलले १५ सय लिटर दुध खपत हुने गरेको छ ।’

हाल संघमा दैनिक ५ हजार लिटर दुध संकलन हुँदै आएको छ । जिल्लामा खपत नभएको दुध पोखराको सुजल डेरीमा पठाउने गरिएको संघले जनाएको छ ।

कोभिड–१९ का कारण होटल व्यवसायहरु संञ्चालनमा आउँन नसकेपछि दुध खपतमा कमी आएको संघका सचिव भुजेलले जानकारी दिए । संघले समय र आवश्यकता अनुरुप नौनी, पनीर, आइसक्रिम लगायतका परिकार समेत बनाएर बिक्री गर्दै आएको छ ।

संघमा जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, भानु, आँबुखैरेनी, बन्दीपुर लगायत पालिकाबाट दुध संकलन गरी ल्याउने गरेका छन् । यसरी संकलन हुने गरेका दुध चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाउन तताएर सेलाएपछि प्रयोग गर्ने गरिएको सचिव भुजेलले बताए ।

गोरखा, लमजुङ र तनहुँ गरी जिल्लामा उत्पादन गरिएको दुध संकलन गर्ने गरी व्यास–११ रानीगाउँमा संघको आफ्नै भवन निर्माण गरिएको हो ।
विसं २०५३ सालमा भाडामा लिएर ५ वटा दुग्ध सहकारीबाट सुरु गरेको यस संघमा हाल १८ सहकारी आबद्ध भैसकेको संघका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । किसानलाई प्रतिलिटर ५६ देखि ५८ सम्म दिने गरिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width