नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन एजेण्डा प्रवेश, छिट्टै विस्तार हुने

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७
kp-oli-prachanda_oLFWWlmdXV

पोखरा, ५ असोज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन एजेण्डाले प्रवेश पाएको छ । पेरिसडाँडामा बसेको सचिवालय बैठकमा संघीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्प लगायत विषयमा छलफल भएको हो ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकपछि आइतबार झण्डै ३ घण्टा बसेको सचिवालय बैठकमा निश्चित मापदण्ड अपनाएर छिट्टै मन्त्रिमण्डल पुनर्गठन गरिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नीतिगत मापदण्ड तयार गरेपछि प्रधानमन्त्रीले मन्त्रीहरुको हेरफेर गर्ने जानकारी दिइए पनि बैठकमा यसबारे कुनै निष्कर्ष भइसकेको छैन । साथै संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशन तयारीका लागि सांगठानिक काम र योजनाबारेमा पनि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३ प्रस्ताव राखेका थिए । स्रोतका अनुसार पहिलो सबै मन्त्रीहरूलाई हटाउने, दोस्रो शुरूदेखि नै मन्त्री भएकालाई हटाउने र तेस्रो केही सामान्य थपघट मात्र गर्ने । त्यसबारे थप छलफल हुने बैठकमा सहभागी एक सदस्यले जनाए ।

त्यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ लगायतका केही नेताले राम्रो काम गरेका मन्त्रीहरूलाई हटाए नराम्रो सन्देश जाने भन्दै चिन्ता प्रकट गरेका थिए ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सबै मन्त्री फेर्नुपर्ने प्रस्ताव गरेका थिए । नेकपामा लामो समयसम्म सांसद रहेका तर हालसम्म पनि मन्त्री नभएकालाई चान्स दिनुपर्ने खनालको भनाइ रहेको स्रोतले जनायो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले भने सोलोडोलो निर्णयभन्दा पनि उपयुक्त मापदण्ड बनाएर पुनर्गठनको काम गर्नुपर्ने आशयको भनाइ व्यक्त गरे ।

यद्यपि मन्त्रिमण्डल कहिलेसम्म पुनर्गठन हुन्छ भन्ने मितिमा भने छलफल भएको छैन । पुनर्गठन कार्य दसैँ वा तिहारपछि मात्र हुन सक्ने सम्भावना छ ।

यसैगरी कोरोना महामारीका समयमा संघीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाइको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले बैठकले अध्यक्षता गरेका थिए । अब अर्को बैठक सोमबार अपराह्न पुनः बस्नेछ ।

यसअघि स्थायी कमिटीको गत बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारितपछि लामो समयको विवाद टुङ्गिएको थियो । स्थायी कमिटीको सो बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width