महारानीलाई मदन पुरस्कार, ठटाललाई जगदम्बा–श्री

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७

पोखरा, ५ असाेज । चन्द्रप्रकाश बानियाँको ऐतिहासिक उपन्यास ‘महारानी’ ले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ । जगदम्बा–श्री पुरस्कार गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई दिइने भएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सबैभन्दा प्रतिष्ठित मदन पुरस्कारबाट साविकको धौलागिरी अञ्चलकै पहिलोपटक म्याग्देली लेखकको हातमा परेको हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले १ सय ५१ पुस्तकमध्येबाट यसअघि ७ पुस्तक मदन पुरस्कारका लागि छनोट भएकामा अन्ततः महारानीले पुरस्कार प्राप्त गरेको आइतबार जनाएका हुन् ।

विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो ।

यसपालि बानियाँको महारानीसहित विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा पुस्तक मदन पुरस्कार सूचीमा परेका थिए ।

म्याग्दीको बेनी–५ पुलाचौरका बानियाँ पूर्व सांसद हुन् । राजनीतिबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय बानियाँद्वारा लिखित उपन्यास ऐतिहासिक विषयमा आधारित छ । पर्वत राज्यको विषयमा लेखिएको उपन्यासबाट इतिहासका धेरै कुरा बाहिर ल्याएको छ । ३ सय ६८ पेजको यो उपन्यासका लेखक बानियाँका यसअघि ‘मृत्यु संस्कार मन्थन’, ‘कुलपूजा’, ‘एतिहासिक पर्वत राज्य’ प्रकाशित भइसकेको छ । बानियाँ केही दिनमा निबन्ध संग्रह ‘भौज्या’ प्रकाशनको तयारीमा छन् ।
यसैगरी गत ६ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पु¥याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरिएको छ । विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो ।

गुठीले २०४५ सालमा रानी जगदम्बाको मृत्युपछि उनको सम्झना स्वरुप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width