विश्वमा सङ्क्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो

रासस
असाेज ४, २०७७
coronavirus

वासिङ्टन, ४ असोज ।  विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ९ लाख नाघेकोे छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबारसम्म सङ्क्रमितको संख्या ३ करोड ९ लाख ९२ हजार ९ सय ८० पुगेको हो ।

चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या ९ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । २ करोड २५ लाख ८७ हजार ९ सय ५ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९ लाख ६७ हजार ४ सय ३ भन्दा बढी सङ्क्रमित भएका छन् । यस्तै २ लाख ३ हजार ८ सय २४ जनाको मृत्यु भएको छ ।

दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघेको छ ।

ब्राजिलमा १ लाख ३६ हजार ५ सय ६५ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६ हजार ७ सय २४ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ९७ हजार २ सय ५१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ६२ हजार ८ सय ६५ व्यक्ति सङ्क्रमित छन् ।

सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

भारतमा ५४ लाख संक्रमित

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले १ हजार १ सय ३३ जनाको मृत्यु भएको जनाएको छ।

कुल सङ्क्रमितमध्ये अहिले पनि १० लाख १० हजार ८ सय २४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमितमध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६ सय २० जना सङ्क्रमित भएका हुन् ।

प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि ३ लाख १ हजार २ सय ७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा १ लाख १ हजार १ सय ४८ जना सक्रिय सङ्क्रमित छन् ।

आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७ सय २१ जना सङ्क्रमित अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीले जनाएका छन् ।

भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म ६ करोड १५ लाख ७२ हजार ३ सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ । .

Related News

सम्बन्धित समाचार

hero news full width