भोक, रोग र शोकमा भुजेल गाउँ

सविन लामिछाने
असाेज ४, २०७७
lions

दमौली । ‘कोही नेपाली भोकै बस्दैन । कोही नेपाली भोकले मर्दैन । किनभने यस देशमा जनताको सरकार छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्तिले अहिले उनलाई गिँज्याइरहेको होला । किनकि कोरोना कहरबीच निमुखा नेपाली जनता रोगसँगभन्दा भोकसँग लड्न विवश छन् ।

सोमबहादुर भुजेल ६७ वर्षका भए । उनले गाउँमा कुनै नयाँ मानिस देख्नेबित्तिकै आफनो व्यथा सुनाउन थाल्छन् । भन्छन्, ‘भुटुन नहालेका तरकारी नखाएको ३ महिना भएछ ।’

विगत ३ वर्षदेखि खाटमा पल्टिरहेकी उनकी श्रीमती ६० वर्षीया मनिसराको रेखदेखमा उनको दैनिक बित्छ । आफ्नै परिवारमा अन्य सदस्य नभएपछि उनी आप्mनो जीवनसाथीको रेखदेख र घर धान्ने गर्छन् ।

भत्किएको घरमा ओत लिएर बसेको यो जोडी उज्यालो भविष्य खोजीमा छ । बाथ रोगले च्यापेर थला परी खाटमा सुतेकी मनिसरालाई आर्थिक अभावका कारण उपचारार्थ अस्पताल लैजान सकिएको हैन । सोमबहादुर भन्छन्,‘घरमा खानेकुरा खाने पैसा छैन । कताबाट उपचारको लागि लैजानू म बुढोले ।’

भत्किएको घरको ओत लागेर बसेका उनीहरुलाई चर्को घाम पनि पोल्छ । वर्षाको पानीले पनि भिजाउँछ । नाम मात्रकै घर छ, उनीहरुको ।

सोमको जोडीमात्र होइन, सोही गाउँमा रहेको वीमाया भुजेलको जोडी पनि उस्तै अवस्थामा छ । भत्किएको गोठको सहारा लिएर बसेका छन् । बायाँपट्टि खुटा भाँचिएपछि उनले एक महिनादेखि हिँड्न सकेकी छैनन् ।

आर्थिक अवस्था नाजुक भएकाले उनले अस्पतालसम्म उपचार गर्न समेत जान पाएकी छैनन् । उनले भनिन्,‘उपचार गर्न जान पैसा नभएपछि घरमै पटी बाँधेर बसेको छु । खाना लाउन सकेको छैन ।’

यी २ जोडीको मात्र समस्या होइन, उक्त गाउँ नै विपन्न वर्गमा छ । डोकोनाङ्लो बुनेर घर चलाउन उनीहरु सबै घरघरको आ–आप्mनो व्यथा छ । बजार क्षेत्रबाट टाढा सो गाउँमा युवा पनि छैनन् । रोजगारी सिलसिलामा कोही विदेश गएका छन् भने कोही बाह्य जिल्ला । गाउँमा केही पर्दा तत्काल काम गर्न बालबालिका र वृद्धवृद्धा बाहेक कोही युवा छैनन् । गाउँमै युवालाई राख्न उक्त क्षेत्रमा कृषि, पर्यटन सम्बन्धी विभिन्न योजना लैजान स्थानिय तहले पहल देखाउन अति आवश्यक देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width