पोखरामा धर्म–अर्थ–काम र मोक्ष विषयक बहस

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
jatunepal (2)

पोखरा, ३ असोज । पोखरामा शनिवार एक समारोहका बीच धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा, साहित्यकार गीता भट्टराईको स्मृति सभासहित विचार गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीमा डा.लेखनाथ आचार्यले मोक्ष विषयमा बोल्दै बोध हुनेहरु बोल्दैनन्, बोल्नेहरुमा बोध हुँदैन यसैले समाज अप्ठ्यारोमा परेको बताए । आचार्यले मनको शान्तिका लागि मान्छे मन्दिर धाउँछ तर उसले शौचालय पनि मन्दिर हो भन्ने नबुझ्नु दुःखद भएको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अर्थका बारेमा विचार राख्दै विश्व अर्थ अवस्थाकै कारण भीषण युद्धमा फस्ँदै गएको बताए । उनले जीवनको प्रत्येक क्षणमा अर्थको महत्व रहने तर मान्छेले सम्यक हिसाबले अर्थोपार्जन गर्नुपर्ने उल्लेख गर्दै आर्थिक महत्वकाङ्क्षाकै कारण व्यक्ति आत्महत्याको तहसम्म पुग्ने र समाज भाँडिदै गएको जिकिर गरे ।

माक्सवादी चिन्तक विश्वप्रकाश लामिछानेले धर्मका बारेमा आफ्ना धारणा राख्दै मान्छे स्वभाविकैले धार्मिक हुन्छ तर ढोङ्गीहरुले धर्मको महत्व घटाउँदै लगेको बताए । लामिछानेले शोषणविहीन समाजको परिकल्पना अनुरुपको कर्म नै धर्म भने ।

अधिकारकर्मी लेखक सावित्री गौतमले कामका बारेमा प्रकाश पारेकी थिइन् । उनले काम भनेको यौन मात्र बुझ्ने संस्कार गलत भएको धारणा राख्दै आफ्नो नित्य कर्म नै काम हो भनिन् । महिलाको सधैँ काम बित्ने बताइन् । हिन्दू धर्मको कामदेव जस्तै ग्रिकमा पनि पुरुषलाई यौनदेवता मान्ने चलन रहेको उल्लेख गर्दै इन्द्रले अपराध गर्दा अहिल्या आदिले सजाय भोग्नु परेको तिक्तता पोखिन् । महिलाले यौन चाहना दमन गर्नुपर्ने, पुरुषलाई जहिले जतिसुकै बेला पनि हाम्रो समाजमा यौन स्वतन्त्रता रहेको बताइन् ।

विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले साहित्यिक संस्थाले यस्तो मर्मभेदी विषयमा बहस चलाउनु अनुकरणीय कार्य हो भने । संस्थाले आगामी दिनमा यस्तै प्रकृतिका विचारप्रधान र रसप्रधान कार्य गर्दै अगाडि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा वडा ३ की सचिव साहित्यकार चन्द्रावती वाग्ले, साहित्यकार रामनाथ अधिकारी संगी, विष्णु बास्तोला र नरेन्द्र रानाभाटले रचनावाचन गरेका थिए ।

संस्थाद्वारा कोरोना सचेतना सामग्री वितरण गरी सामाजिक दूरी कायम गर्दै सीमित समूहमा उक्त कार्यक्रम आयोजना गरेको थियो । कोरोना सचेतनाका लागि लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सचेतना सामग्री, मास्क र स्यानिटाइजर उपलब्ध गराएको थियो । सोही समारोहबीच संस्थाको प्रथम साधारणसभासमेत गरिएको थियो । सभाले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको थियो ।

सोही समारोहबीच साहित्यकार गीता भट्टराईको स्मृति सभा पनि सम्पन्न गरिएको थियो । उपस्थित सम्पूर्णले भट्टराईको तस्वीरमा पुष्पार्पण गरी मौनधारणसहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

असफल गौतमले साहित्यकार भट्टराइकोे जीवनी र कृतित्वमाथि प्रकाश पार्दै उनको निधनले नेपाली वाङ्मयका क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राखे ।

अध्यक्षको आसनबाट बोल्दै प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले वडा कार्यालय परिवार र उपस्थित सम्पूर्णप्रति आभार प्रकट गर्दै संस्थाले आगामी दिनमा युगानुकूल कार्यक्रम अगाडि सार्ने प्रतिबद्धता व्यक्त गरे ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समसामयिक विषयका विभिन्न वहस, पैरवी गर्दै साहित्यको उन्नति, देशभक्ति र राष्ट्रिय एकताका पक्षमा वकालत गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width