गाउँ डुल्ने संक्रमितलाई ५ हजार जरिवाना

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
Shuklagandaki

दमौली । होम क्वारेन्टिनको मापदण्ड पालना नगरी गाउँ डुल्दै हिँडेका एक जना कोरोना संक्रमित युवकलाई शुक्लागण्डकी नगरपालिकाले कारबाही गरेको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

भारतीय सेनामा कार्यरत् ती युवा बिदामा घर आई होम क्वारेन्टिनमा बसेका थिए । शुक्रबार पिसीआर परीक्षणका लागि स्वाब दिएका उनले रिपोर्ट नआउँदै पहिले नै नेगेटिभ आएको भन्दै गाउँ डुलेका थिए । भदौ २९ गते रिपोर्ट सार्वजनिक हुँदा कोरोना पुष्टि भयो ।

ती युवकमा संक्रमण भेटिएपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दा उनले धेरै व्यक्तिसँग सम्पर्क गरेको खुलेको छ ।

साथीभाइसँग भेट्नुका अलावा उनले भोजभतेरमा समेत गएको खुलेको छ । ‘उनले ४० जनासँग सम्पर्क कायम गरेको भेटियो,’ स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले भने,‘घरमै बस्छु भनेर भनेका व्यक्ति भोजभतेरमा गएको पाइएपछि जरिवाना गरेका छौं ।’

लापरबाही गर्नेक्रम बढ्दै गएकाले सचेत बनाउन कारबाही गरिएको श्रीवास्तवले बताए । सङ्क्रमित ती युवकको सम्पर्कमा आएका ४४ जनाको पहिचान भएको छ । उनीहरुको बिहीबार स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पोखरा पठाएको पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width