राष्ट्रिय सभा सदस्यको शपथपछि वामदेवले भने-प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
_RoS_Ktm2

पोखरा, २ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बनेका छन् । गौतमले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सिंहदरबारमा उनले शपथ ग्रहण गरेका हुन् ।

त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा मनोनीत गरेकी थिइन् । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित ३ जनालाई मनोनयन गरिने प्रावधान छ ।

शपथ ग्रहणपछि मन्तव्य राख्दै नेता गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन आएको दाबी गरे । उनले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिष्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिलाई आभार व्यक्त गरे।

‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधानबमोजिम, राष्ट्रिय सभाको नियमावली बमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु,’ नेता गौतम भने, ‘मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन।’

साथै उनले नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैँ बफादार भएर कर्तव्य निर्वाह गर्ने पनि उल्लेख गरे । उनले भने, ‘हाम्रो पार्टी (नेकपा) ले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । त्यो संकल्प बमोजिम त्यो कार्य सम्पन्न गर्नका लागि के–कति भूमिका निर्वाह गर्न सक्छु, त्यो भूमिका निर्वाह गर्नेछु । त्योभन्दा मेरो कुनै अर्को उद्देश्य, लक्ष्य र स्वार्थ छैन ।’

यसअघि प्रतिनिधिसभा सदस्य चुनावमा पराजित गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णयबमोजिम गत भदौ २९ को मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । भदौ १८ को नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय गरेको होे । गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो । फागुन १४ को नेकपा सचिवालय बैठकले पनि राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, गौतमलाई राष्ट्रिय सभा लैजान त्यसबेला भएको निर्णयको प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। जसबाट सत्तारूढ नेकपाभित्र लामो समयसम्म विवाद सिर्जना हुँदै आयो ।

प्रधानमन्त्री ओलीले आफ्ना प्रियपात्र युवराज खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेको भएपनि अस्वीकारपछि उनी आफैले गौतमको प्रस्ताव ल्याएपछि वामदेव पुनः माननीयको सिँढी उक्किन सकेका हुन्।

यसअघिको चुनावमा पराजित व्यक्तिलाई गरिमामय राष्ट्रिय सभामा लैजाने निर्णयको भने कतिपयले आलोचना गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width